०९ माघ २०७५, काठमाडौं
पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसायिक रुपमा नै संचालन हुने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमानामा पर्ने खावामा ‘वल्र्डवाइड एड्भेञ्चर प्रालि’को संचालनमा सो व्यवसाय हुने बताईएको छ ।
हेर्दा संरचनाको हिसाबले सामान्य देखिए पनि नेपाल भूकम्पको दृष्टिकोणले जोखिम क्षेत्रभित्र पर्ने भएकोले बनाउने ठाउँमा माटो परीक्षण गरी टावर हाल्ने काम गरेको जनाईएको छ । सो साहसिक खेलको लागि लगभग ५० लाखभन्दा बढि खर्च भईसकेको बताईएको छ । जिपलाइन खेलको उडान विन्दुदेखि अवतरण विन्दुसम्मको दूरी एघार सय मिटरको रहेको छ ।
सो खेल नेपाली नागरिकका लागि प्रतिव्यक्ति एक पटकमा दुई हजार पाँच सय र विदेशीको लागि ३५ देखि ४० डलरसम्म लाग्ने बताईएको छ । सबै उमेर समूहका व्यक्तिले खेल्न सकिने सो खेल दिनको ६० जनासम्मले खेल्न सकिने जनाईएको छ ।