झमकको पिडादायी बाल्यकाल : बुवाआमाले समेत दशैँमा टीका लगाएर ‘चाँडै मरेस’ भन्थे



०९ माघ २०७५, काठमाडौं

प्रति मष्तिस्क रोग (Cerebral palsy)द्वारा पीडित विश्वकै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन झमक कुमारी घिमिरे । उनी एक दुर्बल तथा असाधारण प्रतिभावान नेपाली महिला स्रष्टा हुन् ।

बुवा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेको पहिलो सन्तान छोरीको रूपमा २०३७ असार २१ शुक्रबार धनकुटाको कचिडेमा जन्मिएकी झमकको बाल्यकाल अत्यन्तै कष्टकर थियो । लुला हात गोडा र विकलाङ्ग शरीर लिएर ‘धेरै छाक भोकभोकै बस्ने परिवार’मा जन्मेकी झमकलाई जन्मने वित्तिकै स्वजनले ‘मुर्कुट्टा’ भने ।

दशैँमा टीका लाएर उनलाई ‘चाँडै मरेस’ भन्ने आशिष दिए । उनले कुनै पाठशाला र गुरुबाट सिक्न पाइनन् । सिक्न खोज्दा ‘तैले सिकेर के गर्छेस् ?’ भने । गोडाको बुढी औँलाले छर्छरी रगत निकाल्दै भुईमा कपुरी क लेख्दा भुँई भत्काई भनेर गाली गरे । गोल अर्थात कोइलाले लेख्दा ‘रिन लाग्छ’ भनेर गाली खाइन् । अरू बालकहरू पढेनन् भने कुटाई खान्छन् । उनी पढी भनेर कुटाई खान्थिन् । कापीकलम माग्दा कुटाई खाइन् ।

उनको ‘कहिलेकाहीँ ओठमा उम्रिएको हाँसो पनि ‘धेरै नहाँस्’ भन्ने आदेशमा विलाउँथ्यो । जोखाना हेर्नेले सन्तान पिर्छे भने । मान्छेले उनलाई अलच्छिनि भनेर बाटो छले । पाँच वर्षको हुँदा भात खुवाइ दिने आफ्नी बजू मरेपछि गोडाका औँलाले मुछेर भात खान थालिन् । आफैले आफ्नो दिसा पुछ्ने प्रयत्नमा दिसामा आफै लटपटिन्थिन् । उनलाई बुबाले समेत पापको परकाष्टा भन्दै घरबाट पर्तिरको जङ्गलमा फल्न लगेका थिए ।

भोकै, प्यासै, नांगै, अधिकांश एकाकीपनमा हुर्की सकेपछि नौ–दश वर्षको हुँदा घर बनाउन आएका सिकर्मी डकर्मीबाट फाटेको लुगाबाट देखिने गुप्तांगमा ताकेर ढुंगाका मसिना गिर्खाले हानि मागेर र कुरी कुरी भनेर गरेको यौन शोषण सहने जस्ता अनेक आपद विपत सँहदै उनी हुर्किन् ।

जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, डुल्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्थिन । खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले दर्जनौं पुस्तक प्रकाशित गरिसकेकी छिन् । औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकी थिइन् ।

२०५३ सालदेखि लेख्न थालेकी झमकका कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा नियमित स्तम्भहरू प्रकाशित हुन थाले । खुट्टाको सहायताले नियमित लेखनमा आगाडि होमिन थालेकी घिमिरेले आफ्नै चिता अनि शिखातिर, मान्छे भित्रका योद्धाहरु, झमक घिमिरेका कविताहरु, क्वाटी संग्रह, अनसन पछिको अनसन र जीवन काँडा कि फुल जस्ता चर्चित कृतिहरु साहित्यिक बजारमा पस्किसकेकी छिन् । उनको थुप्रै लघु कथा, कविता, गीत, निबन्ध र दैनिक डायरी पनि पत्रपत्रिकाहरुमा प्रकाशित भइरहने गर्छन् ।

झमकले प्रबल गोरखा दक्षिण बाहुचौथो लगायत कविता राम बाल साहित्य प्रतिभा पुरस्कार, अस्विकृत विचार साहित्य पुरस्कार, लैनसिंह वाङ्देल पुरस्कार र मदन पुरस्कार सहित दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरिसकेकी छिन् । उनको लेखन, संघर्ष र पुरस्कार नेपाली साहित्यको एउटा गर्भिलो उपहार हो भने सपाङ्गहरुको निम्ति गतिलो उदाहरण हो ।

प्रतिक्रिया दिनुहोस्