०९ माघ २०७५, इटहरी/खेमराज सापकोटा
इटहरी उपमहानगरपालीकाका मेयर द्वारीकलाल चौधरीले इटहरी चाँडै खेल मैत्री शहर बनाउने प्रतिबद्धता दोहोर्याएका छन् । केही समय अघि इटहरी खेल मैत्री शहर बन्ने वचन दिएका चौधरीले अब चाँडै नै बचन अनुुसारको शहर बन्ने बताएका हुुन् । बुधवार एन प्याब्सन सुनसरीको वार्षिक खेलकुद कार्यक्रमको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले विद्यालय स्तरबाटै खेल क्षेत्रको विकास हुने र यसले खेल क्षेत्रमा उपलब्धी मिल्ने बताए ।
निजी विद्यालयहरूको सङ्गठन एन प्याब्सन सुनसरीले वार्षिक रूपमा खेलकुद कार्यक्रम सञ्चालन गर्ने गरेको छ । जस अन्तर्गत यो वर्षको वार्षिक कार्यक्रम पनि सम्पन्न भएको हो । सुनसरी भित्रका निजी विद्यालयको सहभागिता तथा सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालय स्तरबाट खेलको विकास गर्नको लागि आयोजना गरिएको कार्यक्रममा फुटबल, भलिबल, ब्याडमिन्टन, म्याराथन दौड, हिसाब दौड लगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रममा खेल तथा प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै ऐन प्याब्सन प्रदेश नं १ का अध्यक्ष जय बहादुर श्रेष्ठले निजी विद्यालयको यस्तो कार्यक्रमलाई सरकारी स्तरबाट चासो नदिएको आरोप लगाए । ‘सरकारी विद्यालयलाई जति प्राथमिकतामा राखिएको छ त्यती निजीमा सरकारको वास्ता गरिएको छैन ।’ उनले भने, ‘१० वर्ष भित्रमा निजी विद्यालय विस्थापित गर्ने लक्ष्य लिएको छ । तर सरकारी विद्यालयले निजी विद्यालयले जस्तो विद्यार्थीलाई सेवा सुबिधा नै दिन सकेको छैन ।’
कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनेलाई सम्मान समेत गरिएको थियो ।