वाग्मती सफाइमा २९ मेट्रिकटन फोहर व्यवस्थापन



१२ माघ २०७५, काठमाडौं

माघे झरीमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ जुटेका अभियानकर्मी बिहान ७ बजेदेखि फोहर टिप्दै थिए । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ ।

झरी परेका बेला अभियानर्मीको सङ्ख्या भने घट्ने गरेको छ । झरीसँगै उपत्यकाका नदी र चक्रपथ सफाई गरी २९ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गरेका थिए । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारी साधनमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।

उक्त महाअभियानको २९८औँ हप्तामा ललितपुरतिरको गुसिङ्गालमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशिष घिमिरेलगायत अभियानकर्मीको सहभागिता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १६ संस्थाका २९० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । डेढवर्ष अघि गुसिङ्गाल क्षेत्रबाट हटाइएका सुकुम्वासी फेरि नदी किनारमा आइ बसेकाले नदीमा फोहर बढेको पाइएको उहाँले जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथिको नदी सफाइको २५९औँ हप्ता पुग्दा गोकर्णेश्वर नगरपालिका वडा नं–६ र ८ को सीमास्थित नदी किनारमा सफाइ गरिएको थियो । दुवै वडाको संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाढ्नाका साथै नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

सफाइबाट सङ्कलित तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत सुझाव दिएको थियो । घरकै फोहर व्यवस्थपन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ ।

सो अवसरमा नगर उपप्रमुख शान्ति नेपालले यस क्षेत्रको वाग्मतीलाई नमूना बनाउने अभियानमा नगरपालिका लागेको बताउनुभयो । सफाइमा मानव अधिकार तथा शान्ति समाजलगायत सङ्घ संस्थासहित माकालबारी टोलवासी गरी २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइ अभियानको २५३ हप्तामा रुद्रनगर टोलमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

वाग्मतीको तिलगङ्गा क्षेत्रमा १९९औँ हप्ताको सफाइ अभियानमा तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा तिलगङ्गा आँखा अस्पताल अघिको नदी किनारमा भएको सफाइमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिनुभयो ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १०८औँ हप्ताको सफाइमा दुई मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो भने मनोहरा नदी सफाइको ९८औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइमा एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो ।

यस्तै चक्रपथ सफाइ अभियानको ९४औँ हप्तामा चक्रपथस्थित भाटभटेनीबाट धुम्बाराही चोकसम्मको सफाइमा नौ मेट्रिकटन र ललितपुरको लगनखेलस्थित बौद्ध स्तुपबाट बटुकभैरवस्थानसम्म सफाइमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको सक्रियतामा छ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो ।

आलोकनगर सफाइको ९४औँ हप्तामा त्यस क्षेत्रमा एक मेट्रिकटन र चक्रपथ बाफल खण्ड सफाइको ७६औँ हप्तामा स्वयम्भू बुद्धपार्क क्षेत्रमा सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

सफाइ महाअभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोस् रुपमा काम हुन नसकेको गुनासो समेत सुनिने गरेको छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकिएको अभियानकर्मीहरूकोको गुनासो थियो । वाग्मती किनारमा सञ्चालन भएका सुङ्गुर बङ्गुर फार्म र सुकुम्वासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन ।

माघ २६ गते वाग्मती सफाइ महाअभियान शुरु भएको ३००औँ हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी भएको छ । विशेष कार्यक्रमका लागि शहरी विकास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजनामा बैठक गरी तयारीका काम अघि बढाइएको जनाइएको छ ।

विशेष कार्यक्रमका लागि शहरी विकास मन्त्रीको संयोजकत्वमा उपत्यकाका सबै स्थानीय तहका प्रमुख सदस्य रहनेगरी मूलआयोजक समिति गठन गरिएको जनाइएको छ । सङ्घीय मामिला मन्त्रालयले देशभरका स्थानीय तहमा सफाइ सम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्