अल्ट्रा म्याराथनको तयारी पुरा



१५ माघ २०७५, काठमाडौं

शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले बुधबार आयोजना गर्न लागेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ ।

नगरपालिकाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकूदका माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको बताए ।

मानहुँबाट शुरु भएर नगरपालिकाको वडा नं ८ पुलिमराङमा टुङ्गिने म्याराथनका लागि सोमबार साँझसम्म ७७ धावकले नाम दर्ता गराइसकेका छन् । मंगलबार साँझसम्म १५० धावकले नाम दर्ता गराउने अनुमान गरिएको छ ।

म्याराथनको दूरी ४४ किमी रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैँचे–चापाघाट–अनशन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

प्रतियोगितामा प्रथमलाई ८० हजार, दोस्रोलाई ६० हजार, तेस्रोलाई ५० हजार र सान्त्वना हुने पाँच जनालाई १५/१५ हजार प्रदान गरिनेछ । गत वर्ष आयोजना गरिएको प्रथम व्यास नगर अल्ट्रा म्याराथनमा तीस जिल्लाका १४४ धावकको सहभागिता थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्