१६ माघ २०७५, काठमाडौं
हात्तीगौंडा स्थित नेसनल युनाइटेड स्कुलमा यही मिति २०७५ माघ १६ गते बुधबार “सँगै उत्कृष्टता हासिल गरौं” भन्ने मृ्ल नाराका साथ वार्षिक अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम २०१९ सुरु भएको छ । कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह-प्राध्यापक रेवती प्रसाद दाहाल तथा संस्थापक निर्देशक जे.बी. हमालले खेल सामाग्री हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रम सुरु हुनु अघि राष्ट्र र जनताका लागि ज्यान आहुति दिने महान् सहिदहरुप्रति सम्मान स्वरुप एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रम माघ १६ गतेदखि १८ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ । कार्यक्रममा फुटसल, बास्केटबल, व्याडमिन्टन, कराते, बुद्धिचाल, हाइजम्प, लङ्गजम्प, रोड रेस लगायत विभिन्न ३४ विधामा नर्सरीदेखि कक्षा नौसम्मका विद्यार्थीहरुले १२३ स्वर्ण, १२३ रजत तथा १२३ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
उद्घाटनसँगै सुरु भएको सिनियर व्बाइजतर्फको खेलमा ब्लू हाउसले रेड हाउसलाई ११-३ ले पराजित गरी दोस्रो चरण प्रवेश गर्न सफल भयो । त्यसैगरी पहिलो दिन व्याडमिन्टन, बास्केटबल, क्यारम बोर्ड लगायत १२ स्पर्धाका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै व्यवस्थापन समितिका अध्यक्ष दाहालले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्न सहयोग पुर्याउनुका साथै शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राखी शैक्षिक क्रियाकलापमा समेत सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिँदै कार्यक्रम समापन पश्चात् विजेताहरुलाई पुरस्कृत गरिने जानकारी गराउनुभयो ।