१७ माघ २०७५, काठमाडौं
राष्ट्रियसभाको बिहीबारको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि दफावार छलफल हुने भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने बताईएको छ ।
यसअघि सोमबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकमाथि संशोधन राख्न ७२ घण्टाको समय दिएका थिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले विधेयकमाथि संशोधन राख्न समय दिएका थिए । तर, संशोधन राख्दा संसदको प्रक्रियामा सामेल भइने भन्दै कांग्रेसले विधेयकमाथि संशोधन हालेको छैन ।
कांग्रेसले संसदको प्रक्रिया, दुई पूर्व सभापतिहरुका नाममा रहेका दुई अस्पताल खारेज गर्न लागिएको तथा अनसनरत डा गोविन्द केसीसँग सरकारले यसअघि गरेको सहमति पुरा गर्न माग गर्दै लगातार संसद अवरुद्ध गर्दै आएको छ । संसदको तल्लो सदन प्रतिनिधिसभाबाट भने कांग्रेसको विरोधको बावजुद विधेयक पारित भइसकेको छ।