१८ माघ २०७५, काठमाडौं
नेपाल र युएईबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । पहिलो टी–२० मा २१ रनले हारेको नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज जोगाउन चाहन्छ ।
एक दिवसीय खेलमा सिरिज जितेको नेपालले पहिलो टी–२० मा भने युएईसँग स्तब्ध भएको थियो । युएईको दुबई मैदानमा हुने खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । तीन म्याचको सिरिजमा युएई १/० ले अघि रहेको छ । आजको खेलमा जित निकाले नेपालले सिरिजमा १/१ को बराबरी गर्नेछ ।
बिहीबारको खेलमा हार बेहोरेको कारण आज भने टिममा केही परिवर्तन हुने संकेत देखिएको छ । युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिममा पारस खड्काको कप्तानीमा १६ सदस्यीय खेलाडी रहेका छन् ।
उक्त प्रतियोगिताका सहभागी खेलाडीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन्। त्यस्तै, भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन् ।