२० माघ २०७५, काठमाडौं
कप्तान लियोनल मेसीले दुई गोल फर्काएपछि बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । जित्ने लक्ष्य राखेको भ्यालेन्सियाको पोष्टमा मेस्सीले दुई गोल गरे । त्यससँगै दुबै टोलीहरुले समान अंक बाँडेका हुन् ।
दुई गोलले पछि परेको अवस्थामा घरेलु मैदानमा मेसीले पेनाल्टीमार्फत दुई गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । मेसीले दुवै हाफमा १–१ गोल गरेका थिए । मेसीले ३९औँ मिनेट र ६४औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि बार्सिलोना अंक खोस्न सफल भयो ।
बराबरिपछि २२ खेलबाट ५० अंकसहित बार्सिलोना शीर्ष स्थानमै छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिड ४४ अंकसहित दोस्रो स्थानमा छ भने ३९ अंक रहेको रियल तेस्रोमा छ ।