मदन भण्डारी स्मृति कप : मनाङको दबादबा सुख्खा, उपाधी आर्मीलाई



२० माघ २०७५, काठमाडौं

यो सिजनको मदन भण्डारी स्मृति कपको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ । मनाङलाई २–० ले पराजित गर्दै आर्मीले उपाधी जितेको हो ।

अघिल्लो वर्ष उपविजेता बनेको आर्मीले यस वर्षभने आफ्नो खेललाई सुधार्दै उपाधी चुम्न सकेको हो । आर्मीको लागि कप्तान भरत खवास र टंक बस्नेतले एक–एक गोल गरे ।

यता, मनाङ भने १० खेलाडीमा सिमित रह्यो । खेलको ७० औं मिनेटमा ओलावाले रातो कार्ड पाएपछि मनाङलाई खेलको निर्धारित समयसम्म खेल्न नै मुस्किल भएको थियो ।

आक्रामक खेल खेलिरहेको मनाङ अन्तिम समयसम्मै ० मै सिमित रह्यो । प्रतियोगिताको व्यक्तिगत उपाधिमा आर्मीका खेलाडीको दबदबा रह्यो ।

फाइनल खेलका म्यान अफ दी म्याच विमल पाण्डे आर्मीकै हुन् । यसैगरी, उत्कृष्ट गोलरक्षकमा आर्मीका बिकेश कुथू बने । सर्वाधिक गोलकर्ता र उत्कृष्ट फरवार्ड आर्मीकै भरत खवास घोषित भए ।

उत्कृष्ट डिफेन्डरमा मनाङका सुरज विक भए । उत्कृष्ट मिडफिल्डरको उपाधि आर्मीका सन्तोष तामाङले जिते । उदीयमान खेलाडीमा राष्ट्रिय जागृति क्लब इटहरीका उमेश राई घोषित भए ।

प्रतिक्रिया दिनुहोस्