२० माघ २०७५, काठमाडौं
भारतको भूवनेश्वरमा आगामी माघ २६ गतेदेखि फागुन ३ गतेसम्म हुने महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो प्रतिद्वन्दीको रुपमा म्यानमारलाई पाएको छ ।
भारतीय फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल म्यानमारसँग खेल्नेछ । आसन्न साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको हो ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल खेल फागुन ३ गते हुनेछ । प्रतियोगिताको तयारीका लागि नेपाली टोली अहिले झापामा बन्द प्रशिक्षणमा रहेको छ ।
नेपाली टोलीमा गोलकिपर एन्जिला तेम्वाप्पो सुब्बा, अन्जना रानामगर, उषा नाथ, डिफेन्डर हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बू, मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बू, रेनुका नगरकोटी र स्ट्राइकरमा अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी तथा अनिता केसी छन् ।