२० माघ २०७५, काठमाडौं
फेसबुकको भित्तामा टाँसिएको सुचना देखेर हतारहतार क्यामेरा झोलामा राखेर दौडिए नाट्य कुञ्ज घर थापागाउँ बानेश्वार। सुचना अनुसार ३ बजेबाट नाट्य कुञ्ज घरमा ३ कवि तथा कवियत्रीहरु परलाद पोखरेल, दिव्यलक्ष्मी पोखरेल र सुदेश सत्यालको दमदार कविता वाचन हुदै थियो।
म पुग्दा घडीले लगभग ३ बजेर १० मिनेटबाट उकालो लागिसकेको थियो। बाहिर सुनसान जस्तै थियो। केहि गाडी र बाइक पार्किङमा आफ्नो मालिकलाई कुरेर बसिरहेका थिए। म आफ्नो पाईला नाट्य कुञ्ज घरको गेटबाट अगाडी बढाउदै गर्छु। गाडी पार्किङ भन्दा अलिक परतिर सानो काउन्टर जस्तोमा एउटी सुकोमल महिला फोनमा बोल्दै बसिरहेको देखे। सोधबुझ डेक्स जस्तो लागेर म कार्यक्रमको बारेमा सोध्नको निम्ति त्यतैतिर लागे।
म पुग्दैगर्दा नजिकैको शौचालयबाट निस्किएर दुई जना आधाबैंसे व्यक्तिहरु त्यहि डेक्समा आए। म पुग्दा नपुग्दै उनीहरु त्यहाँबाट दुईवटा कागजका टुक्रा बोकेर हल तर्फ अगाडी बढे।
डेक्समा पुगेर मैले भने , हेल्लो सिस्टर कार्यक्रम सुरु भईसकेको हो ? जवाफ आयो, सुरु भइसको सर छिटो गहिहाल्नु नत्र सिट भरिन्छ। मैले टाउको हल्लाएर उनको कुरामा सहमत जनाउदै अगाडी बड्न लागे। त्यतिकैमा उनले भनिन्, सर टिकट लिएर जानुन ? मैले भने टिकट पनि हो ? उनले जवाफ फर्काइन हो सर। टिकटको कति हो ? मैले सोधे। २०० मात्र हो सर उनले भनिन्। मैले हास्दै भने म मिडियाबाट आएको, पासको व्यावस्था होलानी ? उनले भनिन, त्यो त हामीलाई केहि भन्नुभाको छैन सर सोध्नु पर्छ। कसलाई सोध्नु पर्छ ? मैले प्रश्न गरे। उनले जवाफ दिईन देवी नेपाल सरलाई।
संवाद चल्दै गर्दा कवि सुदेश सत्याल त्यहा आईपुगे । ४/५ बर्ष अगाडी धेरै साहित्यिक कार्यक्रमहरुमा सुदेश र म सगैँ सहभागी हुने गर्थ्यौ। उनी कवितामा तहल्का मच्चाउथे भने म गजलमा। मलाई देखेर अचम्मित हुँदै आज कताबाट यता देखियो भन्दै हात मिलाए। कविको कविताको रसपान गरौ भनेर आएकोनि मैले जवाफ फर्काए। उनले हाँस्दै कार्यक्रम सुरु हुन लाग्यो म अहिले लागे भरे कुरा गरौंला भन्दै हलतिर लागे। म त्यहि रहेको बेन्चमा आफ्नो झोला बिसाएर क्यामेरा मिलाउन लागेँ। क्यामेरा मिलाउदै सोचें, आयोजकहरुले मिडियाहरुको निम्ति कुनै पासको व्यवस्था नगरेता पनि कार्यक्रमको रिपोर्टिङमा आएको म टिकट किनेरै भएपनि हलभित्र छिर्ने निधो गरें।
टिकट किनेर कविता सुन्न जाने मान्छेहरु थपिदै थिए। काउन्टरमा बेलाबेला सिस्टर भन्दै थिईन, टिकट सकिन लग्यो। क्यामेरा मिलाएर मैले झोला बोक्दै गर्दा काउन्टरबाट उनले भनिन् , सर तपाई जानुस्। मैले हास्दै भने कता ? हलतिर कि घरतिर ? उनले पनि हाँस्दै भनिन्, मिडियाको मान्छे हलतिरै जानुस्। मैले फेरी प्रश्न गरें, अनि पास ? उनले जवाफ फर्काइन, उनले मन्द मुस्कानमा भनिन, तपाई जानुस् म भने देवी सरलाई भन्छु। गेटमा मिडियाबाट भन्नु है ? स्विकृत लिएर म अगाडी बढें।
हल भित्र प्रवेश गरेर अन्तिम सिटको एक छेउमा बसे। कार्यक्रमका संयोजकद्वाय देवीराम जोडी अर्थात देवी नेपाल र रामप्रसाद ज्ञावाली मध्धे नेपाल कार्यक्रमको बारेमा फुललबुट्टा भरिरहेका थिए। ज्ञवालीको भने उपस्थिति थिएन। लगभग १०० जना अट्ने हल हेर्दाहेर्दै कवितामय बन्दै थियो। संख्याले तीन भएपनि उमेरले दुई पुस्ता झैँ देखिने कविहरु तथा कवियत्रीलाई सयपत्री माला लगाएर स्वागत गर्दै कविता वाचनको निम्ति मन्चमा राखियो । करिब एक सय श्रोताबीच तीन जना कवि तथा कवियत्रीले आ-आफ्नो पाँचपाँच कविता वाचन गर्दै थिए। एउटै मंचमा नयाँ पुस्ताका सत्याल र पुराना पुस्ताका पोखरेलले फरकफरक विषयका कविताहरु सुन्न पाउँदा श्रोताहरु धेरै मक्ख र हर्षित देखिन्थे।
करिब ३:२० बजे तिर पहिलो कविता वाचन गर्न सत्यालले माइक समाते। “न्याय हराएको देश” शिर्षक कविताबाट उनले आफ्नो वाचनलाई अगाडी बढाउदा श्रोताको हुटिंग र तालीको वर्षा बर्सिरह्यो। सुदेश पछि दिव्यलक्ष्मी र परलादले क्रमसः मेरा पाठशालाहरु र एकतामा अनेकता शिर्षकको कविता सुनाउदै सबैलाई मन्त्रमुग्ध बनाए ।
तीनजना कवि तथा कवियत्रीले पालैपालो पाँच-पाँच वटा कविता वाचन गरेका थिए। जसमा सुदेश सत्यालले न्याय हराएको देश सहित सधै पाइ राखौं म तिम्रै सहारा, जीवन विमर्ष, दर्पणमा देश र फर्केर आउ घर शिर्षकका हृदय स्पर्शी र समसामुहिक पाँच कविताहरु वाचन गरेका थिए भने दिव्यलक्ष्मी पोखरेलले मेरा पाठशालाहरु सहित आमा, शहिदको माया, आमाको वेदना र अर्काको दास बन्दिन भन्ने शिर्षकका मात्री स्नेह र देशप्रेम बोकेको कविताहरु वाचन गरेकी थिईन। यसैगरी परलाद पोखरेलले एकतामा अनेकता सहित अक्षर, शिखरिणी यात्रा, देशको धड्कन र नाका भन्ने शिर्षक रहेको देशप्रेमको भाव बोकेको कविताहरु सुनाएका थिए।
कविता सुनेर सबै श्रोताहरु प्रफुल्लित देखिन्थे। कसैलाई पनि छिटो घर पुग्न हतार भएको जस्तो देखिदैन थियो। सबै एक अर्कामा साहित्यिक भलाकुसारी गर्दै एक आपसमा फोटो खिच्न व्यस्त थिए। कार्यक्रम सकिएसँगै आयोजकले सबै श्रोताहरुलाई खाजा समेत खुवाएको थियो। म सरासर आफ्नो गन्तव्यतिर लागें ।
पछिल्ला दिनहरुमा साहित्यिक कार्यक्रमहरुको ठुलो खडेरी परिरहेको अवस्थामा पोखराबाट सुरु भएको टिकटमा साहित्य सुन्ने कार्यक्रम पोखरा हुँदै आजभोलि राजधानीमा भित्रिनुले साहित्य क्षेत्रको राम्रो संकेत मान्न सकिन्छ। छन्द तरंगको सुरुवात गरेर ६ औं सस्करण सम्म ल्याई पुर्याउदा आयोजकले केहि मात्रामा छन्द कवितालाई मजबुत बनाउने कोशिस गरेको धेरै साहित्यिक मनहरुको बुझाइ रहेको छ। यसरी नै साहित्यमा मलजल गर्दै जाने हो भने भविष्यमा नेपाली साहित्यिक आकाश अझ मजबुद र फराकिलो हुनेमा कुनै शंका देखिदैन। जुनसुकै साहित्यको विधामा कलम चलाउनेहरुले निर्धक्क भएर कलम चलाउन सक्थे। साहित्यकै माध्यमबाट आफ्नो जीवन चलाउन सक्थे। साहित्यकै माध्यमबाट आफ्नो नाम चम्काउन सक्थे।