२१ माघ २०७५, काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठक सकिएको छ । बैठकले भेनेजुएला प्रकरणबारे पार्टीले यसअघि राखेको धारणा नै आधिकारीक भएको स्पष्ट पारेको बताईएको छ ।
‘भेनेजुएला बारेमा पार्टीको स्टेटमेन्ट जारी भैसकेको छ, हाम्रो पार्टीको नीति स्पष्ट छ । त्यसबारे भ्रम र गलत प्रचार नर्गन आजको बैठकले आग्रह गरेको छ’, प्रवक्ता श्रेष्ठले भने,‘ त्यहाँको आन्तरिक मामलामा कसैले हस्तक्षेप नगरोस् । त्यहीँका जनताले नै फैसला गरोस् भन्नेनै पार्टीको आधिकारी धारणा हो ।’ प्रवक्ता नारायण श्रेष्ठले भने ।
बैठकले स्थायी समिति बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्दै अन्तिमरुप दिने र पार्टीको राजनीतिक दस्तावेजलाई पनि छिट्टै प्रकाशित गर्ने निर्णय गरेको छ ।
बैठकले सांगठनिक एकीकरणका काम सचिवालयले नै टुंगाउने निर्णय समेत गरेको छ । बैठकले स्थायी कमिटी बैठकबाट यसअघि बनेको ९ सदस्यीय कार्यदललाई अहिलेसम्म भएका प्रगतिबारेको प्रतिवेदन मंगलबार सचिवालयलाई बुझाउन निर्देशन दिएको छ ।