२३ माघ २०७५, काठमाडौं
आगामी २६ माघबाट सुरु हुने धनगढी प्रिमियर लिग (डिपीएल) को सबै तयारी पुरा भएको बताईएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार फाप्ला मैदानमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको हो ।
प्रतियोगिताको पुरस्कारको पनि सार्वजनिक गरिएको छ । चालू वर्ष प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउने भएको छ । गत वर्ष दोस्रो संस्करणको विजेतालाई २५ लाख रुपैयाँ पुरस्कार दिइएको थियो । मोफसलको प्रतियोगितामा यो मुलुकमै सबैभन्दा ठूलो धनराशीको पुरस्कार हो ।
यसैगरी, उपविजेताले १२ लाख, तेस्रो हुने टोलीले ४ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्डस्टार गोल्डेन स्पाइक सुनको जुत्ता प्रदान गरिने जनाइएको छ ।
हरेक खेलका म्यान अफ द म्याचलाई १५ हजार र छक्का क्याच गर्ने दर्शकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले बताए ।
प्रतियोगितामा धनगढी स्टार्स, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, सीवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहने छ ।