२४ माघ २०७५, काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा कैलालीमा नगदसहित सम्मानित भएका छन् ।
टीकापुर नगरपालिकाले प्रशिक्षक टमाटालाई आज ५१ हजार नगदसहित सम्मान गरेको हो । टमाटालाई मेयर तपेन्द्रबहादुर रावल र सुदूरपश्चिम प्रदेशका कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले सम्मानसहित नगद हस्तान्तरण गरेका हुन् ।
नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका टमाटाले केही दिनअघि मात्रै सम्पन्न यूएईविरुद्धको दुबै सिरिज जिताउन उतिकै योगदान दिएका थिए । नेपालले यूएईविरुद्ध एकदिवसीय सिरिजमा २–१ ले र टी–२० क्रिकेट सिरिजमा पनि २–१ ले नै सिरिज जितेको थियो ।