२७ माघ २०७५, महोत्तरी
महोत्तरीको बर्दिवास नगरपालिकामा सुविधा सम्पन्न ब्याडमिन्टन कवर्डहल बन्ने भएको छ ।
बर्दिवास–१ भब्सीमा आज वसन्तपञ्चमीका अवसरमा नगर प्रमुख विदुरकुमार कार्कीले सुविधा सम्पन्न कवर्ड हल निर्माण कार्यको शिलान्यास गर्नुभयो । बर्दिवास ब्याडमिण्टन सङ्घले रु एक करोड ५० लाखको लागतमा कबर्डहल निर्माण थालेको हो । मुख्यतः ब्याडमिण्टन खेलका लागि निर्माण थालिएको कबर्डहलमा सर्वसाधारणको उपयोगका लागि ‘सोनावाथ’ र ‘स्ट्रिमवाथ’ सहितको सुविधा रहने निर्माण समितिले जनाएको छ ।
यहाँस्थित गौतम रियलस्टेटले उपलब्ध गराएको तीन कठ्ठा जग्गामा कबर्डहल निर्माण थालिएको हो । सङ्घसँग मौजूद रहेको रकमबाट निर्माण काम थालिएसँगै प्रशस्त सहयोगी पाइएका निर्माण समितिका अध्यक्ष विष्णु खड्काले जानकारी दिनुभयो । प्रदेशभित्रका प्रतियोगिता आयोजना गर्न नयाँ बन्ने कबर्डहल उपयोगी हुने जनाइएको छ । निर्माण कार्य छ महीनामा सम्पन्न हुने समितिका अध्यक्ष खड्काले बताउनुभयो ।