श्रीमद्भागवत महापुराण नेपालीमा (आठौं अध्याय)



।। श्रीगणेशाय नमः ।।
श्रीकृष्णद्वैपायनव्यासमहामुनिप्रणीतम्
श्रीमद्भागवतमहापुराणम्

अथ अष्टमोऽध्यायः
कुन्तिको स्तुति र युधिष्ठिर अधीर

जलको इच्छा गर्ने बितेका आफन्तहरुलाई जल दिन कृष्णासहित स्त्रीहरु गङ्गामा गए । उनीहरु सबैले बारम्बार विलाप गर्दै पवित्र गङ्गामा नुहाए र जलदान गरे । त्यसपछि भाइहरुसँग बसेका कुरुराज धृतराष्ट्र, पुत्रशोकले पीडित गान्धारी, कुन्ती, कृष्णा र बन्धु मारिएर शोकग्रस्त भएका अरु सबैलाई माधवले मुनिहरुसँग रही कालको गति सम्झाएर सान्त्वना दिए । केशमा छुने असत् राजाहरु मारियो । दुष्टले खोसेको राज्य अजातशत्रुको बन्यो । तीनवटा अश्वमेध यज्ञ गरेपछि उनको पवित्र कीर्ति इन्द्रको जस्तै सबै दिशामा फैलियो । शैनेय, उद्धवसहित पाण्डुपुत्रहरुलाई बोलाएर द्वैपायन आदि विप्रहरुको पूजा गरे । अनि द्वारका जाने विचार गरी कृष्ण रथमा बसे । त्यसै बेलामा उत्तरा डरले आत्तिएर कुद्दै आइन् र कृष्णसँग भनिन्- मृत्यु मेरा नजिक आयो, जोगाउने तिमीबाहेक अरु कसैले सक्तैन । मलाई तातो फलामे बाणले लखेट्तै छ । म डढेँ भने पनि मेरा गर्भको सुरक्षा गरिदेऊ, त्यसले गर्म मास्न नपाओस् ।

भगवान्ले त्यो कुरो सुनेपछि पाण्डुको वंश समाप्त पार्न द्रोणपुत्रले प्रयास गरेको बुझे । पाण्डवहरुले पनि आफूतर्फ बल्दै आएका पाँचवटा बाण देखेर हतियार उठाए । आफन्तहरुमा आपद् परेको देखेर सुदर्शन चक्र चलाएर प्रभुले आफन्तको रक्षा गरे । सबै प्राणीका आत्मामा बसेका हरिले कुरुवंश जोगाउन विराट् मायाले गर्भ छेकिदिए । अचुक र निर्बाध ब्रह्मास्त्र विष्णुका तेजका सामु पुगेपछि साम्य भयो । सम्पूर्ण आश्चर्यका स्रोत अच्युतलाई आश्चर्य भएन । संसार बनाउने मायालाई यिनैले बनाउँछन् । ब्रह्मतेजबाट मुक्त छोराहरुलाई र कृष्णासँगै हिँड्न लागेका कृष्णलाई सती कुन्तीले यसो भनिन्-

आद्य ईश्वरका रुपमा प्राणीका भित्रबाहिर रहने तिमीलाई नमस्कार छ । मायाको पर्दाले छोपिएका, हामी मूर्ख स्त्रीले तिमी नाटकका अभिनेता जस्ता अव्यय अधोक्षजलाई नचिन्नु स्वाभाविक हो । दुष्ट कंसले लामो समयदेखि देवकीलाई दिएको दुःख हटायौ । विष, महाअग्नि, दृश्य वा अदृश्य पुरुषका डर, दुष्टको सभा, वनवास, प्रत्येक युद्ध, महारथीका हतियार र द्रोणपुत्रका ब्रह्मास्त्र जस्ता अनेकौँ आपद्बाट मेरो परिवार, छोराहरु र मलाई धेरैपटक आपद्बाट जोगयौ । संसारमा पाइलैपिच्छे आपद् मात्रै आइरहन् तर तिम्रो दर्शन भयो भने फेरि संसार नै देख्नुपर्दैन । उत्तम कुलको जन्म, ऐश्वर्य, ज्ञान, सम्पत्ति आदिले मात्तिएका मानिसले तिमीलाई चिन्दैन र तिम्रो नाम लिँदैन तर दुःखीले देख्छ । निर्धनका धन, गुणबाट निवृत्त, शान्त आत्मामा रमाउने र मोक्षका अधिपति तिमीलाई नमस्कार छ । तिमी नै अनन्त समय र सर्वत्र प्राणीका साथ रहेर झगडा गराउँछौ । तिमीले गर्न खोजेको कसैले जान्दैन । संसारमा मानिसको विडम्बनाका कारण तिमी नै हौ । यहाँ कोही कसैको मायालु र द्वेष गर्ने छैन । मानिसको असमान बुद्धि तिम्रै कारणले भएको हो । तिमी अजन्मा हौ तापनि तिम्रो जन्म र कर्म मनुष्य, तिर्यक्, ऋषि, जलचर जस्तो देखा पर्नु आश्चर्यमय कुरो हो ।

तिमीले उपद्रो गरेका बेला गोपीले डोरी लिए, डरले तिम्रो काजल गालामा पुग्यो, डराएका भावले मुन्टो निहुराउँदा मलाई मोहित पाथ्र्यौ, तर उही डर पनि तिमीसँग डराउँछ । वसुदेवका प्रार्थनाले देवकीबाट तिमी अजन्मा धर्तीको सुरक्षा र दैत्य नाशका लागि जन्मेका हौ । ठूलो भारी भएका धर्तीले प्रार्थना गर्दा भारी उतार्नका लागि समुद्रमा डुँगाझैँ तिमी आफैँ उत्पन्न भयौ । अविद्या, काम, कर्मले यस संसारमा पीडितहरुले गरेका प्रार्थना सुन्न आएका भनी कोही भन्छन् । तिम्रा विषयमा मानिसहरु लगातार सुन्छन्, गाउँछन्, स्तुति गर्छन् । तिनीहरुले छिटै नै भवसागरमा तिम्रा चरणकमल देख्छन् । जसका लागि तिम्रो चरणकमल बाहेक अरु कोही आफन्त छैन, त्यस्ता आश्रित, समर्पित, हितैषि हामीलाई आफैँ गुन लगाएर सबै राजाहरु शत्रु भएका ठाउँमा किन छोडेर जाँदै छौ ? प्राणविनाको शरीरझैँ हामी पाण्डव र यदुहरु तिमी नभेटिँदा नाम जपेर र अनुहार सम्झेर मात्रै कसरी रहन सक्छौँ ? तिमी नहुँदा विलक्षण शोभायमान यो भूमि सुन्दर लाग्दैन । पाकेका फलफूल, समृद्ध जनपद, वन, पर्वत, पानी भरिएका नदीहरु तिमीलाई देखेर रमाउँछन् । तिमी अब आफ्नो यो बलियो स्नेहपाश म, पाण्डु र वृष्णिबाट छुटाऊ । गङ्गाको धारा समुद्रमा खसे जस्तै मेरो अनन्य प्रेम बोकेको मन तिमीमा अविरल लागिरहोस् ।

पृथाले यसरी मधुर शब्दले सबै लीलाको वर्णन गर्दा आफ्ना मायाले मोहित गराउँदै वैकुण्ठ मुस्काए । कुन्तीलाई हुन्छ भनी सम्झाएर हस्तिनापुर जान लाग्दा राजाले प्रेमसँग रोके । व्यास आदि ईश्वरलीला जान्नेहरुले इतिहासद्वारा कृष्णका अद्भुतकर्म बुझाए तापनि शोकले पीडितहरुको मन मानेन । मोहले स्नेहका वशमा परेका धर्मराजले बन्धुहत्यामाथि विचार गरेर भने- अहो ¤ म दुष्टका मनको अज्ञान हेर, अर्काको चारो बन्ने यस शरीरका लागि मैले कैयौँलाई मारेँ । बालक, ब्राह्मण, हितैषि, मित्र, पिता, दाजुभाइ र गुरु मार्ने मेरो दसौँ हजार वर्षसम्म नरकबाट मुक्ति हुँदैन । राजाले प्रजा पाल्न धर्मयुद्धमा शत्रु मार्दा पाप लाग्दैन भन्ने अनुशासन वाक्य पनि मेरा मनले मान्दैन । मैले दाजुभाइ र पति मारेका स्त्रीहरुको विद्रोह यहाँ उर्लियो, कल्पौँ गृहस्थकर्मले म मेट्न सक्तिनँ । हिलाले हिलोपानी वा मदिराले मदिराको भाँडो सफा गर्न नसकेझैँ प्राणीहत्यालाई यज्ञले मेटाउँदैन ।

प्रतिक्रिया दिनुहोस्