आईसीसीको टी–२० अलराउण्डर वरियतामा कप्तान पारस पहिलो पटक ४० भित्र



२८ माघ २०७५, काठमाडौं

नेपाली राष्ट्रिय टोलीका कप्तान ‘पारस खड्का’ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टि–२० वरियतामा ठूलो फड्को मारेका छन् ।

आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार पारस पहिलो पटक टि–२० को अलराउण्डर वरियताको शीर्ष ४० भित्र परेका हुन् ।

अघिल्लो सातामात्रै पारसको कप्तानीमा रहेको नेपाली टोलीले यूएईविरुद्धको टि–२० अन्तर्राष्ट्रिय शृंखला जितेको थियो । उक्त शृंखला नेपालले २–१ ले जितेपछि पारस ४०औं नम्बरमा अटाएका छन् ।

पारसले ७६ रेटिङ प्वाइन्ट पाएका छन् । जुन उनले करिअरमा पाएको सर्वाधिक उच्च प्वाइन्ट समेत हो । टि–२० को ब्याटिङ वरियतामा भने पारस ९०‍औं स्थानमा छन् ।

वलिङ वरियतामा नेपालका तीव्रगतिका बलर सोमपाल कामी ७०औं र बसन्त रेग्मी ७१औं स्थानमा छन् । सोमपालले पनि यसपटक करिअरको उच्च ४०९ प्वाइन्ट पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्