२८ माघ २०७५, काठमाडौं
अष्ट्रेलियामा जारी बिग बाश लिगको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनको फराकिलो अन्तरले हराउँदै मेलबर्न स्टार्सले सेमिफाईनलमा प्रवेश गरेको छ ।
स्टार्सको फराकिलो जित निकाल्ने क्रममा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले ११ रन खर्चिएर ३ विकेट लिए । आदम जाम्पा र डानिएल ओरलले २/२ विकेट लिए ।
घरेलु टोली स्टार्सले दिएको १८९ रनको लक्ष्य पछ्याएको सिक्सर्सले निर्धारित २० ओभरको खेलमा १३.४ ओभरमा अलआउट हुँदै ७४ रनमा समेटियो ।
उसका लागि डानियल ह्यूजेजले सर्वाधिक १२ रन बनाए । स्टेभ ओ काफीले ११ तथा टोम कुरानले १० रन बनाउनु बाहेक अरू कुनैले दोहोरो रनको स्कोर छुन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । स्टार्सका लागि कप्तान ग्लेन म्याक्सवेलले ४३ बलमा बिस्फोटक ब्याटिङ गर्दै ६ छक्का र ४ चौकासहित ८२ रन बनाए ।
विकेटकिपर पेटर ह्याण्डस्कम्मले ३५ रन बनाउँदा ओपनर मार्कस स्टोनिसले ३४ रन जोडे ।