२९ माघ २०७५, काठमाडौं
धनगढी प्रिमियर लिगअन्तर्गत आफ्नो पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्सलाई ९४ रनको लक्ष्य दिएको छ ।
फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरले ब्याट्सम्यान चल्न नसक्दा कम योगफलमा समेटियो । निर्धारित २० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर विराटनगरले ९३ रन मात्रै बनाउन सक्यो ।
विराटनगरका लागि नटआउट रहेका राजेश पुलामि मगरले १७ रन, असदुल्ला खानले १६ रन बनाए भने कुशल भुर्तेलले १२ तथा साम्सद शेखले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो रन जोड्न सकेनन् ।
विराटनगरविरुद्ध रुपन्देहीका बलरले उत्कृष्ट प्रदर्शन गर्दै ९३ रनमा समेट्न सफल भए । जसमा रुपन्देहीका लागि भारतीय खेलाडी पुनित मेहराले ४ ओभर बलिङ गर्दै १ मेडन ओभर राख्दै २० रन खर्चेर ३ विकेट लिए ।
त्यस्तै, समान ४ ओभर बलिङ गरेका ललितनारायण राजवंशी र कप्तान वसन्त रेग्मीले समान २–२ विकेट लिए । पहिलो खेलमा म्यान अफ दी म्याच घोषीत विक्रम शोव र कृष्ण कार्कीले समान १—१ विकेट लिए ।