कर्मचारी समायोजन अलपत्र छाडेर मन्त्री पण्डित परिवारसहित विदेश घुमफिरमा व्यस्त



०१ फागुन २०७५, काठमाडौं

निजामती कर्मचारी समायोजन प्रक्रिया अलपत्र छाडेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यूएई घुमफिरमा व्यस्त छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन् ।

फागुन ३ सम्म संघ, प्रदेश र स्थानीय तहमा सबै कर्मचारी समायोजन गरिसक्ने उद्घोष गरेका उनी मन्त्रालयको समायोजन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुलाई समेत सँगै लिएर गएका छन् ।

मंगलबारसम्म ५६ जना सचिव, ६६२ सहसचिव र ८४८ जना उपसचिवको मात्र समायोजन भएको छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फाराम भरेका छन् । मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, ७ वटा प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । फागुन ३ भित्र समायोजन सक्ने सरकारको योजना थियो ।

सबै समूहका करिब ६ हजार अधिकृतको समायोजन प्रक्रिया अघि बढे पनि मन्त्री र महाशाखा प्रमुख नहुँदा उनीहरूको पदस्थापन र सरुवाको कामसमेत अवरुद्ध भएको मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताए ।

मन्त्री पण्डित पत्नी विमला महत, सहसचिव पनेरु, स्वकीय सचिव मनोज राई, आफ्नो निर्वाचन क्षेत्रका नेता अजम्बर राई र छोरी अर्चना पण्डितलाई लिएर झन्डै एक सातादेखि दुबई र आबुधाबीमा विभिन्न कार्यक्रममा व्यस्त छन् । मन्त्री पण्डित बुधबार राति फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्