च्याम्पियन्स लिग अपडेट : नेमार र कभानीबिना पनि पिएसजी बलियो सावित, हरायो म्यानचेष्टरलाई



०१ फाल्गुन २०७५, काठमाडौं

नेमार र कभानीबिना पनि पिएसजीले म्यानचेष्टरलाई पराजित गरेको छ । प्रतियोगिताको अन्तिम १६ अन्तर्गत भएको पहिलो लेगको खेलमा पिएसजीले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई उसकै घरमा ०–२ ले हराएको हो ।

यससँगै नयाँ प्रशिक्षक ओले गुनरको नेतृत्वमा हालसम्म पनि अपराजित रहेको युनाइटेडको यात्रामा पनि यहीं पूर्णविराम लागेको छ । यसअघिका प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेर गुनरलाई प्रमुख प्रशिक्षक बनाएयता युनाइटेड कुनै खेलमा पनि हारेको थिएन ।

बलियो टोली युनाइटेडलाई हराउन पाहुना टोली पिएसजीका लागि प्रेस्नेल किमपेम्बे र केलियन एमबाप्पेले १–१ गोल गरे ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, पिएसजीले दोस्रो हाफमा २ गोल गर्दै खेल जित्यो । उसका लागि ५३औं मिनेटमा किमपेम्बेले पहिलो गोल गरे ।

त्यसपछि खेलको ६०औं मिनेटमा पाहुना टोली पिएसजीका लागि फ्रेन्च फरवार्ड एमबाप्पेले अर्को गोल थपेपछि पिएसजी खेलमा ०–२ ले अघि रह्यो । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल पिएसजीले ०–२ ले जित्यो ।

 

प्रतिक्रिया दिनुहोस्