१ फागुन २०७५, काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी ‘जनयुद्ध’ मा समाजका उत्कृष्ट मानिसहरू सहभागी भएको बताएका छन् ।
माओवादी सशस्त्र द्वन्द्व सुरू भएको २४ औं वार्षिकोत्सवको अघिल्लो दिन मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले अहिले त्यतिबेला माओवादी भएकाहरूले विभिन्न क्षेत्रमा पाइरहेको सफलताले आफूलाई गर्व हुने बताए ।
‘अल्ट्राधाविका मीरा राईले संसारमा किर्तिमान बनाउनुभएको छ, जनयुद्धमा सहभागी भएका अरूहरूले पनि विभिन्न खेलकुद मेडल पाएको देख्दा गर्व लाग्छ,’ दाहालले भने, ‘मेरो छोरा प्रकाशसहित सगरमाथा चढ्नेहरू पनि जनयुद्धका कमाण्डर थिए ।
त्यसले जनयुद्धमा लागेकाहरू बुद्धि नभएका मानिस होइनन् बरू सामाजिक रूपमा उत्कृष्ट मानिस थिए भन्ने सन्देश दिए ।’
प्रकाशसँगै सगरमाथा चढेका सरल सहयात्रीले लेखेको शिखरको ढुंगा नामक पुस्तक आजै विमोचन भएको छ ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा ९ महिना झिलीमिलीमै बितेर गएको बताए ।
‘कहाँ आइयो, ठीक ठाउँमा आइयो कि आइएन भन्दाभन्दै ९ महिना बित्यो । केही चमत्कार गर्ने सपना थियो तर वास्तवमा चमत्कार भन्ने केही हुँदैन,’ दाहालले भने, ‘दोस्रो पटक भने मलाई झिलिमिली भएन ।
मेरो त्यो कार्यकाल देशलाई नयाँ दिशा दिने योजनावद्ध अवधिका रूपमा रहेको बताए ।