महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा



०४ फागुन २०७५, काठमाडौँ

एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ ।

प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन र अझै प्रतिस्पर्धी बनाउन आगामी चैत १ देखि ९ गतेसम विराटनगरमा टि–२० प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

विराटनगरस्थित वैज्यनाथपुरको क्रिकेट मैदानमा हुने प्रतियोगितामा देशका चार शहरका नामबाट चार टोलीले प्रतिस्पर्धा गर्ने तथा शहर र टोली केही दिनपछि घोषणा गरिने प्रालिका अध्यक्ष जयराज रायले जानकारी दिनुभयो । मुलुकभित्र हुने अधिकांश प्रतियोगिता पुरुष खेलाडीका लागि मात्र केन्द्रित रहँदै आएकाले सो सँगै महिला क्रिकेटरलाई अघि बढाउने उद्देश्यसाथ प्रालिले महिला टि–२० लिग आयोजना गर्न लागेको उहाँको भनाइ थियो । प्रतियोगिताको पुरस्कार राशि र सहभागी टोलीबारे छलफल भइरहेकोले केही समयपछि जानकारी दिने आयोजकले जनाएको छ ।

राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले यस्ता प्रतियोगिताले महिला खेलाडीले ठूलो प्रोत्साहन पाउने र खेलको विकासमा समेत मद्धत पुग्ने बताउनुभयो । क्रिकेटको विश्वकप जित्ने मुलुकमा समेत महिला लिग शुरु हुन नसकेको अवस्थामा नेपालमा खेल शुरु हुनु सुखद् भएको बताउँदै उहाँले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

राष्ट्रिय महिला टोलीका कप्तान रुविना क्षेत्रीले लिगका लागि महिला खेलाडी उत्साहित भएको प्रतिक्रिया दिनुभयो । प्रतियोगिताको शहर, टोली र खेल तालीकासहित पुरस्कार रकम भने केही समयपछि सार्वजनिक गरिनेछ ।

चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा
नेपालमा पहिलोपटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडी बिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)मा चार प्रो कार्डका लागि स्वदेशी र विदेशी गरी २० खेलाडीले सहभागिता जनाउने भएका छन् ।

आजबाट हुने प्रतियोगिताका तयारीबारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक बडिविल्डीङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि नेपालसहित सात मुलुकका खेलाडी काठमाडौँ आइसकेको जानकारी दिएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, कतार, सिरिया, साउदी अरेबिया, यूएइलगायत मुलुकका खेलाडी नेपाल आएका छन् । प्रतियोगिताका ‘गेष्ट पोजर’को विश्वविख्यात बडिविल्डर रोली विङ्कलर पनि नेपाल आइसकेका छन् । प्रो क्वालिफायरमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘वुमन पिजिक’ गरी चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका लागि अमेरिका, डेनमार्क, आयरल्याण्ड र नेदरल्याण्ड्सका गरी चार निर्णायकमण्डल नेपाल आइसकेका छन् । चार इभेन्टको विजेताले प्रो कार्ड पाउनेछन् र अमेरिकाको लस भेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउनेछन् । च्याम्पियनसिपमा ५० देखि ६० खेलाडीले सहभागिता जनाउन नाम दर्ता गराए पनि सहभागीको सङ्ख्या कम भएको आयोजक संस्थाका अध्यक्ष एवं पूर्व धर्मश्री विजेता सानु गुरुङले जानकारी दिनुभयो ।

खेल हेर्न दश, पाँच र तीन हजार दरका टिकट राखिएको छ । आइएफबिबीले आयोजना गर्ने ‘मिस्टर ओलम्पिया’ मा भाग लिन ‘प्रो कार्ड’ आवश्यक पर्छ । नेपाल यसअघि यो संस्थामा आबद्ध थिएन । त्यसैले नेपाली खेलाडी ‘मिस्टर ओलम्पिया’ मा भाग लिने अवसरबाट बञ्चित थिए । अब नेपाली खेलाडीले पनि ‘प्रो कार्ड’ पाउने ढोका खुलेको छ । खेलाडीले यी चार ‘प्रो कार्ड’ जितेर अमेरिकाको लसभेगासमा हरेक वर्ष आयोजना हुने ‘मिस्टर ओलम्पिया’ मा भाग लिन सक्नेछन् । त्यसैले यो प्रतियोगितालाई ‘मिस्टर ओलम्पिया’ खेल्ने बाटोको रूपमा पनि लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्