मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सक्न एक भन्दा बढी नयाँ टेन्डर आह्वान गरिने



०६ फागुन २०७५, काठमाडौं

मेलम्ची खानेपानी आयोजनाले बाँकी काम सम्पन्न गर्न एक साताभित्रै नयाँ टेन्डर आह्वान गर्ने भएको छ । अब गरिने टेन्डर कामको प्रकृतिअनुसार फरक–फरक हुनेछन् । सबै कामका लागि एक मात्रै टेन्डर गर्दा प्रक्रिया लामो र कामसमेत ढिलो हुने भएकाले एकभन्दा बढी टेन्डर आह्वान गर्ने आयोजनाको तयारी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा तीर्थराज बस्नेतले लेखेका छन् ।

इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडिएपछि बाँकी काम कसरी अघि बढाउने भन्ने विषयमा खानेपानी मन्त्रालय र मेलम्ची आयोजना विकास समिति छलफलमा छन् । ‘सिएमसीसँगको सम्झौता तोडिएपछि नयाँ टेन्डर खुलाउने तयारी भइरहेको छ,’ आयोजना स्रोतले भन्यो, ‘सिंगल टेन्डर गर्दा प्रक्रिया लामो हुन्छ । विशेष अवस्था भनेर कामको प्रकृतिअनुसारका एकभन्दा बढी टेन्डर आह्वान हुन्छ र प्रक्रियासमेत छोटो गर्न सकिन्छ ।’

सरकारले सिएमसीलाई सन् २०१३ मा तीन वर्ष्भित्र मेलम्चीको पानी काठमाडौं ल्याउने गरी सात अर्ब ७२ करोडमा आयोजनाको जिम्मा दिएको थियो । तर, भूकम्प, नाकाबन्दीलगायतका कारण देखाउँदै विभिन्न समयमा सम्झौता थप गरिएको थियो । पछिल्लो सम्झौताअनुसार सिएमसीले २७ माघसम्म आयोजनाको काम सक्नुपर्ने थियो ।

विभिन्न कारण देखाउँदै सिएमसीका प्रतिनिधिले २९ मंसिरदेखि नै काम छाडेपछि आयोजना बोर्डले २४ माघमा ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो ।

सिएमसीको आशाले निर्णय हुन सकेन सिएमसीसँगको ठेक्का तोडिएको दुई साता बित्न लाग्दासमेत आयोजनाको बाँकी काम कसरी अघि बढाउने भन्नेबारेमा निर्णय हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्