पार्टी एकताको टुंगो लगाउँदै नेकपा सचिवालय बैठक बालुवाटारमा जारी



०६ फागुन २०७५, काठमाडौँ

पार्टी एकताको काम टुंग्याउन नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदलमाथि कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल आफैँले प्रस्ताव तयार पारी एकता प्रक्रिया टुंग्याउन लागेको बताइएको छ ।

सचिवालय र स्थायी समिति बैठकमा प्रस्तुत गर्न अध्यक्षद्वय ओली र दाहालले एकताको प्रस्ताव तयार पार्न पटकपटक छलफल गरे पनि टुंगोमा पुगेको छैन् ।

दुवै नेताले आइताबार पनि पार्टीका केही नेतालाई बालुवाटार बोलाएर अनौपचारिक छलफल गरेका थिए ।

पछिल्लो कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई पनि बालुवाटार बोलाई अध्यक्षद्वयले आइतबार छलफल गरेका थिए ।

सचिवालय बैठक सोमबार विहान पौने १० बजेदेखि प्रधानमन्त्री निवासमा जारी रहेको नेकपा सचिवालयले जनाएको छ ।

नेकपाले केन्द्रीय निकायहरू, ३२ केन्द्रीय विभाग र भूगोलका ७७ जिल्लाको एकता टुंगो लगाउन बाँकी छ ।

त्यसैगरी पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्य्विभाजन, चार विशेष जिल्ला कमिटी र तिनलाई नेतृत्व गर्ने प्रदेशसरहको विशेष कमिटी, सम्पर्क समन्वय कमिटी, प्रदेश सम्पर्क कमिटी गठन गर्न पनि नेकपाले सकेको छैन् ।

यस्तै प्रवास क्षेत्रको एकीकरण, जनवर्गीय संगठनहरू केन्द्रदेखि स्थानीय तहसम्मको एकत प्रक्रिया पनि टुङ्गिन बाँकी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्