सात महिनामा तीन प्रतिशत बजेट खर्च,



०६ फागुन २०७५, काठमाडौँ

प्रदेश २ सरकारले चालु आर्थिक वर्षको सात महिनामा कुल बजेटको सवा तीन प्रतिशत मात्र खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्म छ वटा मन्त्रालयको चालु र पूँजीगत गरी कुल १८ अर्ब आठ करोड ६७ लाख ८० हजार ९८३ रुपैयाँमा ५६ करोड ९७ लाख ७७ हजार ५३४ मात्रै खर्च भएको छ । यो रकम कुल बजेटको ३.१५ प्रतिशत मात्र हो ।

सरकारले खर्च गरेको प्रतिशत बजेटमा सेवासुविधा, सवारीसाधन खरिद र भौतिक पूर्वाधारको मर्मत सम्भारमा लगानी गरिएको छ ।

कार्यालयका अनुसार ३० करोड रुपैयाँभन्दा बढी रकम विभिन्न मन्त्रालयका लागि गाडी खरिद गर्न खर्च गरिएको छ ।

यस्तै, मन्त्रालय रहेका भवनको मर्मत सम्भार, रंगरोगन, फर्निचर खरिद, मेसिनरी उपकरणको खरिदमा खर्च भएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयको सञ्चित कोषमा पाँच अर्ब ८३ करोड रुपैयाँ सञ्चित रहेको प्रमुख लेखा नियन्त्रक विनोद गेलालले जानकारी दिए ।

सरकारले हालसम्म पूँजीगततर्फ कुल बजेटको १.२५ प्रतिशत मात्र खर्च गरेको छ । त्यसमा कतिपय मन्त्रालयले पाँच प्रतिशत बजेट पनि खर्च गर्न सकेका छैनन् ।

प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामचन्द्र मण्डलले मन्त्रीहरुले मन्त्रालयका कामभन्दा विभिन्न कार्यक्रमको अतिथि बन्नमा नै बढी समय दिएको आरोप लगाए ।

‘एनजिओको उदघाटन, सहकारी संस्थाको समापनजस्ता कार्यक्रममै अल्झिएकाले बिकासे बजेट खर्च भएको छैन ।

उनले भने ‘मन्त्रीहरु अझै यस्ता कार्यक्रममै अल्झिरहे प्रदेशको विकास कसरी हुन्छ ? यसैगरी नेपाली कांग्रेस संसदीय दलका सचेतक उपेन्द्रप्रसाद कुशवाहाले सरकारले आफ्नो कार्यकर्ता पोस्ने कार्यक्रम मात्र ल्याएको आरोप लगाएको थियो ।

‘प्रदेशको गौरव हुने खालको ठूला–ठूला महत्तवकांक्षी योजना ल्याउने भिजन नै यो सरकारसँग छैन ।

उनले भने ‘खुद्रा योजनामा रकम खर्चेर भ्रष्टाचार गर्ने र कमिशन खाने दाउमा मात्र मन्त्रीहरु छन् ।

प्रतिक्रिया दिनुहोस्