०६ फागुन २०७५, काठमाडौँ
प्रदेश नम्बर ३ को मन्त्रिपरिषद बैठकले हेटौंडा बजार भत्काउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले मुख्य बजार राजमार्गको सडक थप फराकिलो बनाउने भएकोले बजार भत्काउने निर्णय भएको हो ।
सरकारले बाइपास सडक पनि निर्माण गर्ने निर्णय गरेको छ । हेटौंडा क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र त्रिभुवनराजपथ सडकको दायाँबायाँ १६ –१६ मिटर कायम गर्ने र बाईपास सडकलाई राजमार्गको रुपमा विकास गर्न लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
यसअघि पूर्वपश्चिम राजमार्ग र त्रिभुवनराजपथ सडक दायाँबायाँ १६ मिटर विस्तार गर्ने कि २५ मिटर विस्तार गर्ने भन्ने विवाद हेटौंडामा रहेको थियो ।
विवादका वीच गतवर्ष मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाले सडक विस्तार गर्नेभन्दै बजारक्षेत्रका घर भत्काउन थालेसँगै हेटौंडा तनाबग्रस्त भएको थियो ।
हेटौंडाको मुख्यबजार क्षेत्रलाई शहरी सडकको रुपमा विकास गरेर चारलेनको सडक निर्माण गर्ने, त्यसमा ग्रीन बेल्ट (सडकको दायाँ बायाँ बगैचा ) निर्माण गर्ने, फुटपाथ निर्माण गर्ने, सर्भिस ट्रयाक निर्माण र बाइपास सडक निर्माण गरेर राजमार्गका रुपमा विकास गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
बाइपास सडक निर्माणका लागि ३ नम्बर प्रदेश सरकारले चालु आर्थिक बर्षमा पाँच करोड रुपियाँ विनियोजना गरेको छ ।
यस बजेटबाट खर्च गर्ने गरी डीपीआर बनाउने काम अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार विकाश मन्त्रालयका सचिव कौशलकिशोर झाले जानकारी दिए ।
उपमहानगरपालिका क्षेत्रको सडकलाई शहरी सडकका रुपमा अगाडि बढाउने गरी प्रदेश सरकार अगाडि बढेको ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।
हेटौंडा क्षेत्रमा पर्ने राजमार्गलाई वैकल्पिक व्यवस्था गर्नका लागि संघीय सरकारलाई अनुरोध समेत गरिने निर्णय भएको छ ।
मन्त्रीपरिषद बैठकले बहुप्राविधिक महाविद्यालय स्थापना गर्न जग्गा प्रािप्तका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।
प्रदेश सरकारले सिन्धुपाल्चोकको चौतारामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने भएको छ ।
प्रदेशको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने सम्बन्धमा पनि निर्णय गरेका बताइएको छ ।