०९ फाल्गुन २०७५, काठमाडौं
आईसीसी टी–२० महिला विश्वकपको एसिया छनौटमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ ।
बैंककस्थित एसियन इन्स्टिच्युड मैदानमा भएको खेलमा जितका लागि थाइल्याण्डले दिएको १ सय २५ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा मात्रै ६७ रन मात्रै बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय २४ रन बनाएको थियो ।
नेपालका लागि इन्दु बर्माले सर्वाधिक २९ र सीता रानाले १८ रनको योगदान दिए । अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । नेपालले अर्को खेल भोली यूएईसँग खेल्ने छ । दुई खेल खेलेको यूएईको चार अंक रहेको छ भने एक खेल खेलेको नेपाल दुई अंक छ ।
छनौटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनको आधारमा हुने छनौटको बिजेताले आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनौटमा पुग्नेछ ।