१० फाल्गुन २०७५, काठमाडौं
आईसीसी महिला टी–२० एसिया क्षेत्रीय छनौटमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ ।
थाइल्याण्डको बैंककमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले दिएको ४२ रनको चुनौती नेपालले ३ विकेट गुमाएर पूरा गर्यो ।
पहिले व्याटिङमा आएको यूएईले १७.३ ओभरमा ४१ रन मात्रै बनाउन सक्यो । यूएईकी चामिनी सेरेभिरान्ताको १३ रनबाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।
जवाफी व्याटिङ गरेको नेपालले १०.२ बलमा ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनर काजल श्रेष्ठले १५ रन बनाइन् भने सरिता रानामगर ६ रनमा आउट हुँदा अप्सरा बेगम शून्यमा पेभिलिएन फर्किइन् ।
नेपालकी रुविना क्षेत्रीले १८ रनको नटआउट पाली खेलिन् । यो जीतसँगै नेपालको विश्वकप खेल्ने सम्भावना जिवितै रहेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो भने दोस्रो खेलमा थाइल्याण्डसँग ५७ रनले हारेको थियो । नेपालले अब अर्को खेल आइतबार हङकङसँग खेल्नेछ ।