११ फागुन २०७५, काठमाडाैं
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री एव संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका विविध आयामसँगै नेपाल कम्युनिस्ट पार्टी हुँदै संघीय समाजवादी फोरमसम्मको यात्रा ।
पुष्पलाल हिँडेको बाटो
स्कुल पढ्दादेखि नै ०३२ मा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग संगत भयो । पुष्पलालबाटै पार्टी सदस्यता लिएँ र उहाँ हिँडेको बाटो हिँड्न थालेँ । पार्टी सदस्यता लिए पनि विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय भइरहेँ । त्यसबेला भूमिगत रुपमै काम गरेँ । ०३२ को विद्यार्थी आन्दोलन, ०४६ को जनआन्दोलनलगायत विभिन्न आन्दोलनमा भाग लिएँ । जेल पनि बसेँ ।
पुष्पलालको मृत्युपछि पुष्पलाल समूहको अध्यक्ष सहाना प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर ०४३ तिर नेकपा मार्क्सवादी बन्यो । त्यही पार्टीको नेतृत्वमा हामीले ०४६ को जनआन्दोलनमा भाग लिएका हौँ । त्यसवेला म पक्राउ परेँ । प्रशासनले मलाई धनकुटा जेलमा राख्यो । त्यसअघि पनि कांग्रेसले सञ्चालन गरेको सत्याग्रह आन्दोलनमा कम्युनिस्ट कार्याकर्ताका रुपमा म पनि सहभागी भएको हुँ । त्यसक्रममा पनि पक्राउ परेँ र झन्डै डेढ वर्ष सेन्ट्रल जेलमा राखियो ।
मदन भण्डारीको देहान्तपछि माओवादी
नेकपा मार्क्सवादी र नेकपा माले एकता भई ०४७ चैतमा नेकपा (एमाले) बन्यो । म एमालेको राजनीतिमा पनि थिए । सुनसरी मोरङतिर । ०४८ को संसदीय निर्वाचनमा सुनसरीबाट एमालेको उम्मेद्वार बनेँ ।
जब ०५४ मा नेपालगञ्जमा छैटौँ महाधिवेशन भयो, त्यो महाधिवेशनमा कम्युनिस्ट पार्टीले तराई मधेश, आदिवासी, जनजाति, अल्पसंख्यकको सवालमा विभेद र असमाता (चाहे सामाजिक रुपमा होस् या आर्थिक रुपमा या राजनीतिक रुपमा नै) को मुद्दा सम्बोधन गरेन । यी मुद्दालाई मदन भण्डारीले सकारात्मक रुपमा लिन्भएको थियो र आयोग पनि बनाउनुभएको थियो । मदनको मृत्युपछि बहिष्कार र वञ्चितीकरण पारिएका समुदायका अधिकार, प्रतिनिधित्व र पहिचानलगायत विषयलाई एमालेले आफ्नो नीति बनाएन । यी विषय अपच भएपछि एमालेलाई छाडेर माओवादी आन्दोलनलाई समर्थन गर्न पुगेँ । किनकि, माओवादीको जनयुद्धले ती विषय सम्बोधन गर्ने र स्थापित गर्ने भन्ने समझदारी बन्यो । यो सामाग्री नयाँ पत्रिकामा प्रेम गौतमले लेखेका छन् ।