श्रीमद्भागवत महापुराण नेपालीमा (दशौं अध्याय)



।। श्रीगणेशाय नमः ।।
श्रीकृष्णद्वैपायनव्यासमहामुनिप्रणीतम्
श्रीमद्भागवतमहापुराणम्

अथ दशमोऽध्यायः
श्रीकृष्णको द्वारकागमन

युद्धका डढेलाले मासिएको कुरुवंशलाई स्थापित गर्न युधिष्ठिरलाई राज्यका आसनमा बसाएर ईश्वर हरि अति खुसी भए । भीष्म र अच्युतबाट पाएका विशिष्ट ज्ञानले भ्रम धोइएका युधिष्ठिरले आफ्ना भाइहरुको साथ पाए र इन्द्रले अमरावतीमा जस्तै पृथ्वीमा राज्य गरे । झरी ठिकसँग पर्याे, धर्तीले चाहिएका वस्तु दियो, गाईले दुध प्रशस्त दिए । नदी, वन, पर्वत, समुद्र, बोटबिरुवा र औषधि चाहिए जति फले । दैवी र मानवी कष्ट नभएकाले उनी सबै मानिसका लागि अजातशत्रु भए ।

आफन्तको शोक मेटाउन र बहिनीको खुसीका लागि केही महिना हरि हस्तिनापुरमा बसेका थिए । सबैसँग अनुमति लिई अभिवादन साटासाट गर्दै बिदा भएर रथमा चढे । सुभद्रा, द्रौपदी, कुन्ती, विराट्पुत्री, गान्धारी, धृतराष्ट्र, युयुत्सु, गौतम, नकुल–सहदेव, भीम, धौम्य, स्त्रीहरुमा मत्स्यपुत्री आदि सबै कृष्णको बिछोड खप्न नसकी ढले । प्रशंसनीय कीर्ति एकपटक सुनेर रुचाएको सज्जन सत्सङ्ग छोडेर दुःसङ्गमा लाग्दैन । उनमै बुद्धि समर्पित गरेर देख्ने, छुने, बोल्ने, सुत्ने, बस्ने, खाने गरेको विरह खप्न पाण्डवलाई गारो भयो । सबै एकोहोरिएर हेरिरहे, हृदय द्रवित भयो, स्नेहले आँखा नझिम्क्याई हेर्दा मन त्यतै दौडियो । देवकीपुत्र निस्कँदा उनका बान्धवस्त्रीहरुले अपशकुन होला कि भन्दै उर्लेका आँसुहरु रोके । मृदङ्ग, शङ्ख, भेरी, वीणा, पणव, गोमुख, धुन्धुरी, आनक, घण्टा, दुन्दुभि आदि बजे । हवेलीमाथि चढेर हेर्ने कुरुनारीहरुले प्रेम र लज्जाले मुस्काउँदै कृष्णलाई फूल बर्साए । प्रिय गुडाकेशले प्रियतमको मुक्ता जडिएको र रत्नको डन्डी भएको श्वेतछत्र पक्रेका थिए । उद्धव र सात्यकिले अद्भुत चम्मर हल्लाए, फूलहरु छरिँदै भएका बाटामा मधुपति रमाउँदै गए ।

गुणरहित निर्गुणलाई गुणवान्को झैँ द्विजले आशिष् दिन्थे । उनमा चित्त लागेका कुरुराजस्त्रीहरुले उनकै रमाइलो कुरा गरे । उनै पुरातन, आत्मावासी, पुरुष पहिले त्रिगुणमयी लोकलाई आफूमा विलीन गराई आँखा चिम्लेर शक्तिमा सुत्छन् । फेरि आफ्नै पराक्रमले प्रेरित हुँदै प्रकृतिमा आफ्नै मायाले जीव सृष्टि गर्न नाम रुप लिँदै कर्ता बनेर त्यसकै अनुसरण गर्छन् । संसारमा इन्द्रियविजयी, प्राणविजयी र प्रफुल्लित ज्ञानीले हृदयमा गरिने परब्रह्मका भक्तिले अन्तःकरण चोखिन्छ, अन्यले होइन । यिनकै कथा वेदमा र गुह्यशास्त्रमा रहस्यवादीले गायन गरे । यी एक ईश्वरले आफ्ना लीलाले संसारको सृष्टि, पालन र नाश गर्छन् तर स्वयं लिप्त हुँदैनन् । तामसी बुद्धिका राजाहरुबाट अधर्म बढेका बेला यिनैले सत्य, ऋत, दया, यशको रुप लिएर हरेक युगमा कल्याण गर्छन् । त्यो कुल प्रशंसनीय छ । त्यस पवित्र वनमा श्रेष्ठ पुरुष श्रीपति जन्मिएर पवित्र पार्दै विचरण गर्छन् । पवित्र भूमिले स्वर्गको कीर्तिलाई जित्छ । भूमि नै पुण्यदाता र यशदायक हुन्छ । उनकै कृपाले त्यहाँ मानिस मुस्कुराउँछन् । यिनले स्वीकार गर्नका लागि पहिले पक्कै व्रत, स्नान, हवन र सूर्योपासना गरेका थिए होला । त्यसैले उनको त्यस्तो निकट आत्मीयता पाए । स्वयंवरमा पराक्रम देखाएर र चैद्य आदि प्रमुख वीरहरुलाई जितेर र खोसेर भौमको वध गरेर हजारौँ सङ्ख्यामा स्वतन्त्रता र पवित्रता गुमाएका स्त्रीहरुका जीवन उनैले उत्तम बनाए । उनीहरुका पालनकर्ता उनै हुन् । उनीहरु अन्य पारिजात आदि जेसुकै पाए पनि यिनको हृदयका स्पर्शलाई छोड्न सक्तैनन् । सहरका स्त्रीहरुले यस्तै कुरो गर्दा हेराइले उनीहरुलाई अभिनन्दन गर्दै हाँस्तै हरि हिँडे । स्नेहवश, शत्रुको आशङ्का लाग्दा मधुद्विषको सुरक्षा निम्ति अजातशत्रुले चतुरङ्गिणी सेना खटाए । अनि पर पुगेका विरहव्यथित, अति स्नेही, कुरुहरुलाई फिर्ता गरेर प्रियहरुसँगै शौरी आफ्नो सहर गए । कुरुजाङ्गल, पाञ्चाल, शूरसेन, यमुनातटका क्षेत्र, ब्रह्मावर्त, कुरुक्षेत्र, मत्स्य, सारस्वत, अनि मरुधन्व सौवीर आभीर आदि ठाउँहरु पनि कटेपछि घाम अस्ताए र प्रभुका घोडा पनि थाके । ती सबै ठाउँबाट उपहार पाएका हरि रथबाट भुईंमा ओर्लिएर साँझको कर्ममा लागे ।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां प्रथमस्कन्धे
श्रीकृष्णद्वारका गमनं नाम दशमोऽध्यायः ।।१०।।

प्रतिक्रिया दिनुहोस्