१२ फाल्गुन २०७५, काठमाडौं
स्पेनिस ला लिगाअन्तर्गत कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेसँगै बार्सिलोनाले सेभिल्लामाथि सहज जित निकालेको छ । खेलमा दुईपटक पछि परेको स्थितिमा बार्सिलोनालाई कमब्याक जित दिलाउनेक्रममा मेस्सीले सनसनीपूर्ण ह्याट्रिक गरे । १ गोल लुइस स्वारेजले गरे ।
निकै प्रतिस्पर्धात्मक र आक्रामक खेलमा सुरुआती अग्रता पनि घरेलु टोली सेभिल्लाले नै लिएको थियो । उसका लागि खेलको २२औं मिनेटमा जेसस नाभासले गोल गरेका थिए ।
तर, सेभिल्लाको अग्रता धेरैबेर टिकेन । खेलको २६औं मिनेटमा बार्सिलोनाका लागि मेस्सीले गोल गरे । उनले इभान राकिटिकको आकासे पासमा भली प्रहार गर्दै वान टचमै निकै दर्शनीय गोल गरेका थिए ।
फेरि खेलको ४२औं मिनेटमा सेभिल्लाका लागि ग्याब्रिएल मेर्काडोले गोल गरेपछि सेभिल्ला पहिलो हाफमा २–१ ले अघि रह्यो । उनले पाब्लो सराबियाको पासमा गोल गरेका थिए ।
त्यसपछि दोस्रो हाफमा बार्सिलोनाले सुरुबाटै बराबरी गोलका लागि कडा संघर्ष देखायो । र, खेलको ६७औं मिनेटमा पुनः मेस्सीले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ बनाए ।
त्यसपछि खेलको ८५औं मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो गोल गर्दै हयाट्रिक पूरा गरे । त्यसपछि खेलको इन्जुरी समयमा स्वारेजले गोल गरेपछि बार्सिलोना २–४ ले विजयी भयो ।
जीतसँगै बार्सिलोनाले २५ खेलबाट ५७ अंक जोड्न सफल भएको छ । यता, सेभिल्ला २५ खेलबाट ३७ अंकसहित पाँचौं स्थानमै सीमित भएको छ ।