१२ फाल्गुन २०७५, काठमाडौं
जावलाखेलमा रहेको सदर चिडियाखानाले जीव जनावर राख्न नयाँ र आधुनिक किसिमका नयाँ घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानामा सूचना अधिकारी लिना चालिसेका अनुसार रेड पाण्डाका लागि तातोचिसोसहितको नयाँ घरको निर्माण भइसकेको छ भने नीलगाई, स्याल र सारसका लागि पनि बस्नका लागि नयाँ स्थान निर्माण भइरहेको छ ।
आगामी एक महीनामा निर्माणको काम सम्पन्न गरी नयाँ घरमा जीवजनावरलाई राखिने पनि चालिसेले जानकारी दिनुभयो । अहिले चिडियाखानामा नीलगाई छैन, अब अवलोकनकर्ताले नीलगाई पनि हेर्न पाउने छन् । राख्नका लागि घर निर्माण भएसँगै सुदूरपश्चिमबाट नीलगाई ल्याउने तयारी पनि गरिएको छ ।
जनावर राख्ने घर निर्माण मात्रै होइन, अवलोकनकर्ताका लागि सहज होस् भनी चिडियाखानाभित्र रहेको हिँड्ने बाटो पनि मर्मतसम्भारको काम भइरहेको छ । सदर चिडियाखानाले अवलोकनकर्ताका लागि संरक्षित जीवजन्तुको मृत शरीरको प्रतिकृति बनाएर राख्न पनि भवन निर्माणको काम गरिरहेको छ ।
हाल चिडियाखानाको छ हेक्टर क्षेत्रफलमा १२७ प्रजातिका एक हजार २१९ जीवजन्तु छन् । केही वर्षअघि ८०० जीवजन्तु रहेको यहाँ गत वर्ष धेरै चरा ल्याइएकाले सङ्ख्या बढेको हो ।
गत आर्थिक वर्षमा अवलोकनकर्ताबाट रु १४ करोडको आम्दानी गरेको चिडियाखानामा एक लाख स्वदेशी र विदेशी पाहुना जीवजन्तु हेर्न पुगेका थिए । चिडियाखाना अवलोकन गर्न १२ वर्ष मुनिकालाई रु ५०, विद्यार्थीलाई रु १००, सर्वसाधारणलाई १५०, सार्क राष्ट्रका पाहुनालाई रु २२० र अन्य देशका नागरिकलाई रु ७५० प्रवेश शुल्क तोकिएको छ । अघिल्लो आर्थिक वर्षमा अवलोकनकर्ताबाट रु १२ करोड आम्दानी भएको थियो ।
चिडियाखाना परिसरभित्र रहेका जनावरको बारेमा जानकारी दिन, संरक्षित जनावर र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको बारेमा जानकारी दिनका लागि केही दिन अघिबाट डिजिटल शिक्षा केन्द्रको स्थापना पनि गरिएको छ । चिडियाखानामा पछिल्लो समय पहिलो चरणमा अन्यत्रबाट ल्याइएका जीवजन्तुलाई संरक्षण गरी राख्नका लागि उद्धार केन्द्रको अभाव रहेकाले उद्धार केन्द्र पनि निर्माण गर्न लागिएको छ ।
“प्रत्येक वर्ष १०÷१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएको जीवजन्तुलाई छ महीनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु चिकित्सकको निगरानीमा संरक्षण गरी राख्नुपर्छ, तर स्थान अभाव छ”, चालिसेले भन्नुभयो ।
सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रुपमा स्थापना गर्नुभएको हो । विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको हो ।