१५ फाल्गुन २०७५, काठमाडौं
आईसीसी टी–२० महिला क्रिकेटको एशिया छनौट कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ ।
नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो । नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर खडा गरेको थियो ।
नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ रनको योगदान गरिन् । उनले ४९ बलको सामना गर्दै एक चौका प्रहार गरेकी थिइन् । सुस्त गतिमा हिँडिरहेको नेपालको ब्याटिङलाई अनुभवी नेरी थापा र कप्तान रुबिना चौधरीले उकासेका थिए ।
उनीहरुले ३३ रनको साझेदारी गरे । नेरीले १९ बलमा त्यति नै रन बनाइन् भने रुबिनाले १३ बलमै २२ रनको आक्रामक इनिङ खेलिन् । उनीहरु दुवैले ३(३ चौका प्रहार गरेका थिए ।
ब्याटिङमा नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनर सीता राना मगर २ बलर खेलेर खाता नखोली आउट हुँदा नेपाल ६ रनको स्थितिमा थियो ।
त्यसपछि नेपालले नियमित विकेट गुमाउँदै गयो । तर, रुबिना र नेरीले छैटौं विकेटका लागि बलियो साझेदारी गरेर सम्मानजनक स्कोर खडा गरे ।