१७ फागुन २०७५, काठडौँमा
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो वरीयताक्रममा नेपाल एक स्थान माथि उक्लिएको छ। पछिल्लो पटक सार्वजनिक भएको वरियतामा नेपाल टी–ट्वेन्टी वरियतामा १४ औँ स्थानमा उक्लिएको हो। आईसीसीका अनुसार नेपालले सात खेलबाट ३०३ अंक प्राप्त गर्दै यो वरीयता काम गरेको हो ।
यसअघि नेपाल १५ औँ स्थानमा थियो । १८ देशको वरीयतामा पहिलोमा पाकिस्तान, दोस्रोमा भारत, तेस्रोमा अस्ट्रेलिया, चौथोमा दक्षिण अफ्रिका र पाँचौँमा इंग्ल्याण्ड रहेका छन्। न्युजिल्याण्ड, वेष्ट इण्डिज, अफगानिस्तान, श्रीलंका र बंगलादेश क्रमशः छैटौँदेखि दशौँ स्थानसम्म छन् ।
स्कटल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्स ११ औँ, १२ औँ र १३ औँ स्थानमा छन् । १४ औँ नम्बरमा परेको नेपालभन्दा पछि १५ औँमा यूएई, १६ औँमा हङकङ, १७ औँमा आयरल्याण्ड र १८ औँमा ओमान छन् । यसैबीच, टी–ट्वेन्टीकी खेलाडी वरीयतामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का अलराउण्डरतर्फ ३७ औँ स्थानमा उक्लिन सफल भएका छन् ।
७६ अंकसहित सोही स्थानमा पाकिस्तानका इमाद आसीम र नेदरल्याण्डका मिचेल रिप्पोन छन्। भारतीय अलराउण्डर रोहित शर्मा भने टी–ट्वेन्टी वरियतामा पारसभन्दा पछाडि ४० औँ स्थानमा परेका छन्।