२० फागुन २०७५, काठमाडौं
सर्वसाधारणको भिड हुने सरकारी कार्यालयमा अख्तियारले सेवाग्राहीको भेषमा ‘जासुस’ खटाउने भएको छ । छिटो सेवा प्रवाहका नाममा घुस लिने कर्मचारीलाई सुधार्न आयोगले नयाँ कार्यक्रम सुरु गर्न लागेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
मालपोत, यातायात, कम्पनी रजिस्ट्रारको कार्यालय, अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायतका कार्यालयमा आयोगबाट गोप्य रुपमा कर्मचारीलाई सेवाग्राहीलाई भेषमा खटाउन लागिएको हो ।
केही दिनमै यो कार्यक्रम सुरु हुने आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए ।
‘सेवाग्राहीहरु अख्तियारका कर्मचारी पनि हुन सक्छन् भनेर कर्मचारीहरु घुस खान डराउँछन् कि भन्ने हो,’ प्रवक्ता दंगालले भने, ‘भ्रष्टाचार नियन्त्रणमा यो हाम्रो निरोधात्मक शैली हो ।’
स्रोतका अनुसार अडियो र भिडियो रेकर्ड गोप्य डिभाइससहित सरकारी कार्यालयमा ‘जासुस’ खटाउन लागिएको छ ।