२१ फागुन २०७५, काठमाडौं
मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन् । ललितपुरको बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्ना जासुस परिचालन गरी विप्लवलगायत सो दलका अन्य नेता रहेका स्थानबारे सूचना संकलन गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
सुरक्षा निकाय संकलित सूचना प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा बुझाएर पक्राउ आदेशको पर्खाइमा छ। ‘माथिल्ला तहका नेताहरु कहाँकहाँ छन् भनेर हामीले दैनिक सूचना बुझाएका छौं, पक्राउ गर्न आदेश आयो भने हामी तयारीमा छौं’, उच्च सुरक्षा स्रोतले भन्यो ।
स्रोतका अनुसार विप्लव समूहका प्रायः सबै नेता देशका विभिन्न भागमा घुमिरहेका छन्। उनीहरु भारत जाँदै आउँदै गरेको पनि स्रोतले जनाएको छ। देशव्यापी रुपमा संगठन निर्माण र आवश्यक रणनीति तयार गर्न विप्लव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, अनिल शर्मा, हेमन्तप्रकाश ओली र उमा भुजेलको भने भेटघाट भइरहने सुरक्षा स्रोतको दाबी छ ।