आज एपिएफ र आर्मी भिड्दै : झापा गोल्डकप



२१ फागुन २०७५, काठमाडौँ

बिर्तामोडमा जारी झापा गोल्डकपको सेमिफाइनल प्रवेशका लागि मंगलबार दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछ ।

प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल डोमालाल राजवंशी रंगशालामा हुने आयोजकले जनाएको छ । सोमबार भएको खेलमा विदेशी पाहुना टोली हङकङ नेप्लिज एकेडेमीलाई स्तब्ध पार्दै आयोजक झापा–११ झिनो गोल अन्तरले पराजित गर्दै चौथो संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा हङकङलाई १–० गोल अन्तरले जित निकाल्दै घरेलु टोली झापा–११ अन्तिम चारमा प्रवेश गरेको हो ।

झापाले सेमिफाइनलमा नेपाल प्रहरी र थ्री स्टार क्लबबीच हुने खेलका विजेता टिमसँग भिड्नेछ । घरेलु दर्शकको पूर्ण समर्थन पाएका झापालाई पहिलो हाफमा गोल गर्न मैदानमा हम्मेहम्मे परेको थियो ।

खेलको ४२ औं मिनेटमा झापाका निशान्त खड्काको क्रसमा कप्तान कर्ण लिम्बूले हेड मार्फत बललाई जाली चुमाए । निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा झापाले गरेको गोलनै निर्णायक बन्यो ।

खेलमा झापाका निशान्त खड्का म्यान अफ दि म्याचको उपाधिसँगै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । फागुन २७ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्