२१ फागुन २०७५, काठमाडौं
प्रदेश नं ३ प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा र उनकी धर्मपत्नी अनु प्रसाईं लामाले आफ्नो सुपुत्रको अन्नप्राशन (पास्नी) मा लाग्ने खर्च गोकर्णेश्वर नगरपालिका–५ मा सञ्चालित ‘नयाँ जीवन नेपाल’ नामक संस्थालाई सहयोगस्वरुप रु चार लाख प्रदान गरेका छन् ।
प्रदेशसभा सदस्य लामाले ‘नयाँ जीवन नेपाल’ संस्थामा आयोजित कार्यक्रम मार्फत उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ६ का वडाध्यक्ष दिपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडाध्यक्ष एवं नगर प्रवक्ता मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष रमेश अर्याल, लायन्स क्लबका पूर्व गभर्नर कुमारराज सुबेदी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले सामाजिक रीतिरिवाजमा हुँने खर्च सामाजिक काममा लगाउन सके समाजमा प्रत्यक्ष तथा सकारात्मक परिवर्तन हुने र जनतामा सहयोगको भावना विकास हुने बताए । उनले उक्त संस्थामा रहेका बालबालिकालाइ सहयोग पुगोस भन्ने सामाजिक भावनाका साथ उक्त सहयोग गरेको बताए । लामाले परम्परागत नाममा लाखौँ खर्च गर्ने संस्कार बढ्दै गएका अवस्थामा परोपकारी कार्यले सबैमा सकारात्मक सन्देश जाने बताए । उनले बौद्धिक अपाङ्गता भएका बालबालिकालाइ सहयोग गर्न पाउदा खुसि लागेको र आगामी दिनमा आफ्नो तर्फबाट आँफूले सकेको सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नं ६ का वडाध्यक्ष दिपेन्द्र लामाले उक्त संस्थालाई आफ्नो एक महिनाको सेवा सुबिधा प्रदान गर्ने घोषणा गरे ।
त्यसै गरि उक्त कार्यक्रममा समाजसेवी तथा पूर्व लायन्स क्लबका गभर्नर कुमारराज सुबेदीले उक्त संस्थालाई ४३ इन्चको टेलिभिजनको साथै लायन्स क्लब सँग समन्वय गरि खाद्यान्न सहयोग गर्ने बताएका थिए ।