श्रीमद्भागवत महापुराण नेपालीमा (एघारौं अध्याय)



।। श्रीगणेशाय नमः ।।
श्रीकृष्णद्वैपायनव्यासमहामुनिप्रणीतम्
श्रीमद्भागवतमहापुराणम्

अथ एकादशोऽध्यायः
द्वारकामा कृष्णको राजकीय स्वागत

सूतले भने-

समृद्ध आनर्तवासी आफन्तहरुसँग पुगेर उनले तिनीहरुको पिर हटाउनलाई विशाल शङ्ख फुके । उनका हातले समातेर मुखले बजाउँदा ओठका लालीले रातो देखिएको सेतो शङ्खको शोभा रातो कमलमा बसेर सेतो राजहंसले ठूलो स्वरले गीत गाएको जस्तो देखिएको थियो । सांसारिक डरलाई तर्साउने त्यो ध्वनि नजिकै सुनेर राजाको दर्शनका हतारले सबै प्रजा कुदेर आए । सूर्यलाई दीपदान गरिएझैँ आत्माराम, पूर्णकाम र सबैका दातालाई आफूसँग भएको उपहार ल्याए । प्रेमले मुख हँसिलो हुनेहरु पितासँग बालकले तोते बोली बोलेझैँ सर्वसुहृद्सँग भन्थे । विरिञ्चि, वैरञ्च र सुरेन्द्रले सेवा गरेका तिम्रा यस संसारलाई रक्षा गर्ने र परलोक प्राप्त गराउने उनीप्रति सबै झुके । त्यहाँ कालले प्रभावित गर्न सकेनन् । हाम्रो कल्याण गर्ने तिमी नै माता, सुहृद्, पति र पिता जस्ता भए । उनी सद्गुरु र परम देवता पनि भए । सबैले उनकै अनुसरण गर्न रहर गरे । देवतालाई पनि दुर्लभ प्रेमले सिञ्चित स्निग्ध अनुहार देख्न पाएर अहिले सनाथ भएर उनको सम्पूर्ण सौभाग्य प्रदान गर्ने रुप हेरे । कमलनयन अच्युत कुरु, मधु र अन्य आफन्तहरु भेट्ने इच्छाले जाँदाका प्रत्येक क्षणहरु उनीहरुलाई करोड वर्षझैँ भए र उनीहरु सूर्य अस्ताएका आँखा जस्ता भए । प्रजाका कुरा सुन्दै कृपादृष्टि विस्तार गर्दै भक्तवत्सल सहरमा पसे ।

प्राणप्रिय द्वारका मधु, भोज, दशार्ह, कुकुर, अन्धक, अर्ह र वृष्णिबाट नागले भोगवतीझैँ रक्षित थियो । सबै ऋतुको पवित्र वैभव, लता, वृक्ष, आश्रम, उद्यान, उपवन, वन, बगैँचा, तलाउले शोभासम्पन्न नगर थियो । त्यसको मूल ढोका र बाटामा तोरण झुलेका, विचित्र ध्वजा पताकाले घामको राप छेकेका थिए । मूल बाटो, दोबाटो, बजार, चौबाटो बढारेर सुगन्धी जल र फलफूल, अक्षता छरी सजाइएका थिए । घरका ढोका दही, अक्षता, फल, उखु, भरेका कलश, धुपदीपले सजाइएका थिए । प्रिय आएको सुनेर महात्मा वसुदेव, अक्रूर, उग्रसेन र अद्भुत वीर रामका साथमा प्रद्युम्न, चारुदेष्ण, साम्ब, जाम्बवतीपुत्रमा हर्षको वेग उर्लियो । उनीहरु सुत्न, बस्न र खान छोडेर ठूलो हात्ती र ब्राह्मणका सुमङ्गल गीत अघि लाएर, शङ्ख, तुरही, वेदघोषसँगै खुसी हुँदै आदरसाथ रथ लिएर प्रियलाई हतारसँग स्वागत गरे ।

सयौँ उत्कृष्ट वाराङ्गनाहरु कुण्डलका प्रभाले गाला र मुखकान्ति उज्यालो पार्दै यानद्वारा हेर्न आए । उत्तमश्लोकका अद्भुत चरित्रको गायन नट, नर्तक, गन्धर्व, सूत, मागध, वन्दीहरु सबैले गरे । त्यहाँ रहेका नागरिक बन्धुहरु सबैलाई नजिकै गएर कृष्णले यथाविधि सम्मान प्रकट गरे । झुके, हात जोडे, अँगालो हाले, छोए, मुस्काए, हेरे, आश्वासन र इच्छित वर दिई विभुले सन्तुष्ट पारे । आफूले पनि गुरुजन, विप्र, पत्नीसहितका वृद्धबाट आशीर्वाद लिई आपसमा प्रशंसा गर्दै पुरीमा पसे । कृष्ण राजमार्गमा हिँड्दा द्वारकाका कुलीन स्त्रीहरु त्यस महोत्सवलाई हेर्न सधैँ देखिरहेका द्वारकावासीहरुका आँखा लक्ष्मीको निवास अच्युतका अङ्गलाई हेरेर अघाउँदैनथे ।

हृदय लक्ष्मीको घर, मुख र आँखा पानपात्र, पाखुरा लोकपाल, पाउकमल सारङ्गको घर हो । सफा छत्र, चम्मर हल्लाइएको, बाटामा चारै तिरबाट फूल बर्साइँदै, पीतवस्त्र र वनमाला लगाएका उनी कालो बादल, सूर्य, इन्द्रेणी र बिजुलीसँग लिएका जस्ता थिए । आमाहरुका बीचमा बसेका पिताका घरमा गएका उनले देवकी आदि सातै आमालाई शिरले ढोगे । उनीहरुले छोरालाई काखमा राखेर स्नेहले दुध चुसाए, हर्षविभोर मनले आँसुले आँखा भिजाए । त्यसपछि सबै उत्तम कामना पूरा गर्ने आफ्ना भवनमा पसे ।

कृष्णका पत्नीहरुले पति घरमा आइपुगेको देखेर मनमा अति हर्ष माने । उनीहरु झट्टै आफ्नो आसनबाट पनि र पति प्रवास गएको व्रतबाट पनि आँखा लजाउँदै उठेर नजिकै बसे । तिनीहरुले छोरालाई अँगालो हाल्ने निहुँले लज्जावश रोकिरहेका आँसु भरिएका आँखाले हेर्दै मनमनमा धेरै दिनदेखि बिछोडिएका पतिलाई अँगालो हाले । यद्यपि उनी एकान्तमा नजिकै हुन्थे तर पनि प्रत्येक पाइलामा उनका दुई चरण उनीहरुलाई नौलाझैँ लाग्दथे । एक पाइलो मात्रै चञ्चल लक्ष्मीले पनि नछोडेका उनका चरण कुन स्त्रीले छोड्लान् ?

धर्तीका भारी भएका, बलिया अक्षौहिणीले सम्पन्न राजाहरुलाई आपसमा जुधाएर डढेलो लगाएझैँ पारेर मार्दा पनि आफू हतियार नसमाई फुत्किए । ती भगवान् आफ्ना मायाले नरलोकमा अवतीर्ण भए र स्त्रीरत्नहरुका माझमा मानिसझैँ खेले । उद्दीप्त भावको सौन्दर्यपूर्ण पवित्र हाँसो र हेराइका सामु कामदेव पनि लज्जित हुनुपर्छ । मोहित भएर प्रमत्त कामबाणलाई उनीप्रति छोडेका कामदेवले पनि उनका इन्द्रियलाई विचलित गर्न सकेनन् । ती असङ्गलाई पनि सङ्गमा रहेको भनी आफू समानको मान्छे ठान्ने अबुझ हो । प्रकृतिका गुणमा आबद्ध नभई आफ्नै बुद्धिमा आश्रित हुनु नै ईश्वरको ऐश्वर्य हो । प्रमाणले नचिन्ने सोझा अबलाले ती ईश्वर आफ्ना एकलौटी सेवक र पति ठाने ।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां प्रथमस्कन्धे
कृष्णद्वारका प्रवेशो नाम एकादशोऽध्यायः ।।११।।

प्रतिक्रिया दिनुहोस्