देशसँगै दुख्ने साहित्य र नेपाल



१ चैत २०७५, काठमाडौ

सुन्नुहोला ईष्टजन, केही कुरा भन्छु,
दोग्ला हुने मनुस्यको सबाई कहन्छु !

उल्टो-पाल्टो कुरा जे हो भन्छु साफ-साफ,
सिर्जना र व्यङ्ग त हो, गर्नुहोला माफ !

हामी दुई जिब्रे जो छौं नौटङ्की छौं चर्को,
कुरा गर्छौं यौटा तर काम गर्छौं अर्को !

अनपढ मात्र हैन पढालिखा पनि,
दुई खाले कुरा गर्ने बानी उल्कै छ नि !

(कति कुरा भनेर हुँदैन, भनेपनि छुँदैन-छुँदैन !)

सानो हुँदा म यो बन्छु सेवा गर्छु भन्छन्,
ठुलो भई लक्ष पाई पैसा गन्छन् !

पैसावाला बिरामीका अघिपछि लाग्ने,
कति चिकित्सक हुन्छन् दुखी देखी भाग्ने !

अविभावकका नेता विद्यालय खोल्छन्,
कुस्त शुल्क उठाउँछन् जनसेवा बोल्छन् !

(थेचार्न नि सक्तैनन् कसैले, यस्तैलाई मान्दछन् सबैले !)

भोट माग्न नेता आउँछन् शिर झुकाउँछन्,
भोट जिते तिनै फेरी मुख लुकाउँछन् !

अङ्गालामा यौटा चेप्ने हेर्छ अर्कालाई,
सम्बन्धमा इमान्दारी भन्छ बुख बाई !

पर्या बेला गर्छु भन्ने पर्दा ताप ठोक्ने,
किन होला मान्छेहरू गर्छन् धेरै खोक्ने !

(धेरैले यो भन्दछन् गाएर, ढाँट्को निम्तो पत्याउनु खाएर !)

टन्न कमाउने पैसा केही हैन भन्ने,
अनेक छन् दर्शनमा पिपल्पाते बन्ने !

केटाजस्ता बन्छन् केटी, केटी बन्छन् केटा,
भ्रष्टाचार सिध्याउँछु भन्छ भ्रष्ट नेता !

जे गरे नि राम्रै भनून् भन्ने भाव जाग्ने,
बुढालाई तन्नेरी छौ भने खुशी लाग्ने !

(जस्तो गति उस्तै छ प्रगति, कैल्यै पनि नहुनु अगति !)

खिसीट्युरी गरिहिड्ने भैटोपल्छ ज्ञानी,
हातो घुमाउन भन्छ उखेलेर मानी !

म त आफ्नै भेष गर्छु चल्छु हाई-हाई,
सजिलो र सफा लाउँछु लगौंटी न टाई !

जति भने पनि हुन्न कमी कुरीतिको,
सकेसम्म चलाइयोस् धन्दा संस्कृतिको !

(चेतनाको उज्ज्यालो छरौं है, मान्छे भई मान्छेझैं गरौँ है !)

प्रस्तुत सबाई साहित्यकार नारायण नेपालको पछिल्लो लोक-काव्य विधाको सिर्जना हो ।

भोजपुर जिल्लाको अवधारणा सुनसरीमा अवतरण गरेको भन्न नहिच्किचाउने नेपालको जन्म २०२६ (वैधानिक दर्ता: २०२५) साल पुषमा चतरामा भएको हो । योगमायाका हजुरवाणी, मन्थराका सबाईगाथा अनि हरिपृयाका गीति क्षमता र अध्यात्मिक जीवनदर्शनबाट सिर्जनात्मक रूपले प्रभावित भएका उनी साहित्यिक सिर्जना गर्दा आनन्दित हुने विचार व्यक्त गर्छन् । वास्तबमै केही न केही उद्देश्यका लागि पाएको जीवन धेरै नसके पनि सकेको केही राम्रो गर्नुपर्छ । वृद्धि र विकास अनि वृत्ति र सभ्यता सन्तुलनमा ध्यान दिनसके जीवन धन्य हुन्छ भन्ने सोचका उनमा स्वर्गीय पिता पण्डित तथा ज्योतिषी विष्णुप्रसादका स्वसंस्कारमा लागिरहनु पर्ने कुराको छाप रहेको बुझ्नसकिन्छ । प्रख्यात वैद्यका रूपमा पनि चिनिएका विष्णुप्रसादले गरीब जजमानका हित घरकै धूपबाती आदि लगेर पनि संस्कार धान्ने काम चलाइदिने गरेको जानकारहरू बताउँछन् । आफ्ना खेमाका व्यक्ति तथा समुदायमा पुग्ने र हालखबर मात्रै सोध्न सके पनि धार्मिकता अलि दर्बिलो हुन्थ्यो र अपनत्त्व सशक्तिकरण पनि हुँदैजान्थ्यो भन्ने विचार बढिरहेका बेला पण्डितको प्रयाश आन्दोलनकै रूपमा लिनेहरू पनि प्रशस्तै भेटिएका छन् । नेपाल स्वयम् पनि जजमानी अभ्याश हुँदै फरक आजीविकातर्फ बढेको स्वीकार्छन् ।

करीब छ वर्षको उमेरमा “जय” शब्द उच्चारण गरेर बोल्न थालेका नेपालको प्राथमिक शिक्षा चतराको आदर्श विद्यालयमा सम्भव भयो । कक्षा छ पढ्न राजधानी छिरेपनि नियमित हुन नसक्ता फेरि गाउँ जाँदै परीक्षासम्म भ्याउने क्रम चल्दैगयो ! बिचबिचमा भारततिर पनि निस्कने साइत समाजसेवी हरिगोविन्दबाट मिल्दैगयो । नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धारो चौतारो र धर्मशाला बनाउन आर्थिक सहायता जुटाउने उहाँको भगीरथ कदम वास्तविक रूपमा समाजसेवाको उदाहरण थियो भन्न नछुटाउने नेपाल सर्वसाधारण लुटेर पैसा लगानी गर्दै र स्वार्थका लागि सेवा गरेको भनी टोलटोल चाहार्नेहरू प्रति ब्यङ्ग पनि गर्छन् । एक अर्को प्रश्नको उत्तरमा उनी भन्छन् : यसरी डुलेर पनि पढ़ेकैजस्तो ज्ञान आउँदोरहेछ कि क्या हो पछि जाँच दिन बस्ता माथिका तीनभन्दा तल रहेपनि बाँकी पचास-साठी जनाभन्दा नतिजामा माथि नै भइन्थ्यो ! यसो गर्दागर्दै कक्षा दश त्यहींबाट, प्रविणता प्रमाणपत्र तह धरान र पहिलो स्नातक वीरगंजबाट प्राप्त गरियो ।

पढेलेखेकै आफन्तहरूको जमातको सेरोफेरोमै रहेका भएपनि नेपाल त्यो पाटो सम्झन चाहदैनन् । नाम कमाउनु र नाम दिनु फरक कुरा हुन् र जानेकाले सिकाउन सक्छ कि सक्तैन अर्को पाटो ठान्ने उनी स्नातकोत्तर तहको अध्ययनका लागि भने अलि ढुक्कसँग राजधानी बस्नै पर्ने बोध गरी काठमान्डु आएका हुन्छन् । कानुन पढेर न्यायिक कार्यतर्फ शुरुमा लागेपनि तर्कसम्मत प्रमाणसम्मत गरिने कार्य कम बुझेर हो या गलत बुझेर हो लेखापढी छोडेर अंग्रेजी पढ्न लागेका नेपाल इटहरी निवाशी हृदयी आफन्त शालिकराम सुबेदी र रीता नेपाल तथा धराननिवाशी क्षिक्षासेवी अमला सिटौला अनि डोटीबाट समाजसेवी धर्मराज पाण्डेलाई विशेष सम्झन चाहने उनी मानव सेवा नै धर्म हो भन्दछन् । कुरैकुरा, एक दर्जनजति राष्ट्रस्तरमै नाम छ भनी हिंड्नेहरूबाट समाजसेवाका नाममा आर्थिक शोषणमा पर्नुपरेकामा दुखमनाउ पनि गर्छन् । पैसा वा सम्पति डुबेकामा भन्दा प्रभावमा रहेका व्यक्तिहरू दुच्छर रहने गरेकोप्रतिको उनको संकेत प्रष्ट झल्कन्थ्यो !

पछिल्लो पटक काठमान्डु आएपछि भने लेखक नेपालको एउटा ठेगान भेटिन्छ । विभिन्न विद्यालयमा अध्यापन गर्दै स्वाध्यायन तेज बनाएका उनले केही अंग्रेजी पुस्तकहरू प्रकाशनमा ल्याएको बुझिन्छ । ह्वाई नट इन्ग्लिश ग्रामर, द ग्रोविंग लव, अल्टिमेट इन्ग्लिश ग्रामर, फेबल्ज इन इन्ग्लिशलगायतका पुस्तकहरूमा उनको हस्ताक्षर जमेको पाइन्छ । एक सबाई नाम दिएको लोक काव्यको नेपाली पुस्तक बाहिर ल्याइसकेपछि भने नेपालको लेखनले रफ्तार लिएको बुझ्नसकिन्छ । कवितामा गद्य कविता, शायरी, हाइकु तथा सेन्यु, रुवाई अथवा मुक्तक, गजल, श्लोक रचना, गीत अनि छन्द काव्यमा लेखनी चलाउँदै आएका उनका केही कथा, केही नाटक अनि यात्रालेख पनि फुटकर रूपमा भेटिन्छन् । केही चलचित्रमा गीत रेकर्ड गरेका उनी छोटा चलचित्रमा कथा लेख्न तथा पटकथा बनाउन पनि लागिरहेको बताउँछन् । देवनागरी लिपिमा विश्वमै सबैभन्दा छोटा शायरी, मुक्तक र गजल उनकै सिर्जना हुन् यी सिर्जनाहरू सम्बन्धित संस्थाहरूसम्म पुर्याउन पाए देशको नाम पनि जोडिने उनको आग्रह छ ।

सिर्जनात्मक दुनियाँमा सबाईबारे उनको सोधमूलक कृति ‘सबाईको सबाई’ विशेष महत्त्वको मानिएको छ भने ‘सुन्दरीको सबाई’ले उनलाई ‘नेपाल सेवा सम्मान’ दिलायो पनि । देशको धुकधुकी नापेर गएको गोर्खा भूकम्प समेटेर तयार पारिएको उनको कृति ‘भुइंचालोको सबाई’ विद्युतीय स्वरूपमा पनि प्रकाशित हुने तरखरमा रहेको बुझिएको छ । सबाईका सिद्धान्तसमेत सुझाउनसमेत भ्याएका नेपाल अंग्रेजी विषयका अध्यापकका रूपमा पशुपति क्याम्पस चाबेलमा कार्यरत छन् । बदलिदो विश्व र नेपाली विकासक्रम तालमेल नभएकामा चिन्तित प्रतीत हुने उनी समसामयिक राजनीतिको अस्वाभिमानी शैलीप्रति कटाक्ष गर्न पनि कुरा चपाउँदैनन् । उनको भनाइ छ, “कोही देश बुझ्ने अवश्य आउनै पर्दछ, पृथ्वीको थोरै अंश लिएर भएपनि !”

यसरी हेर्दा, लेखक नेपाल नेपाली भाषा र साहित्यमा राम्रै क्षमता राख्तछन् र राष्ट्रियताबारे प्रष्ट छन् । हामी उनको सिर्जनात्मक व्यक्तित्वको प्रशंसा गर्दछौं अनि उत्तरोत्तर प्रगतिको कामना पनि ।

प्रतिक्रिया दिनुहोस्