०२ चैत्र २०७५, काठमाडौं
पाँचौं साफ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल र बंगलादेशविरुद्ध खेल हुँदै छ । जसमा आक्रामक नेपाललाई रोक्न बंगलादेश तत्पर छ, भने नेपाल जसरी पनि खेल जित्न खोज्छ ।
बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानी छोटोंले दक्षिण एसियाको फुटबल विगत एक दशकयता नजिकबाट नियालेका छन् । नेपाल र बंगलादेशले यसबीचमा ५ पटक एकआपसमा खेलेका छन् । तर छोटोंले जित दर्ता गर्न भने सकेका छैनन् ।
शनिबारको खेल उनको लागि अर्को अवसर हुनेछ ।
बिहीबार पाँचौ महिला साफ च्याम्पियनसिपको समूह ‘ए’ अन्तर्गत दोस्रो खेलमा बंगलादेशले भुटानमाथि २–० को जित दर्ता गर्यो । खेलदौरान बंगलादेशले एकतर्फी रुपमा दबाब बनाउँदै गोल गर्ने अवसर लगातार सिर्जना गरेपनि फिनीसिङमा भने चुक्न पुग्यो ।
ठिक त्यसै अवस्थामा मंगलबारको खेलमा नेपाल पनि चुकेको थियो । भुटानलाई ३–० ले हराउँदा नेपाली टोलीले थुप्रै गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । शनिबार सेमिफाइनल पुगिसकेका दुवै टोली समूह विजेता बन्न जितका लागि मैदानमा उत्रनेछन् ।
प्रशिक्षक हरि खड्काले नेपाली टोलीको जिम्मेवारी सम्हालेको धेरै समय भएको छैन । तर यसबीचमा उनले टोलीसँग रहेर तेस्रो प्रतियोगितामा जिम्मेवारी वहन गरिरहेका छन् ।
टोकियो ओलम्पिक २०२० को पहिलो चरणको छनोट र भारतमा आयोजित हिरो गोल्डकपहुँदै खड्का अहिले साफ च्याम्पियनसिपमा प्रशिक्षण सम्हालिरहेका छन् ।
नेपालले हालसम्म बंगलादेशविरुद्ध खेलेका ५ खेलमा ४ जित र १ बराबरी खेलेको छ । पछिल्लोपटक म्यानमारमा १–१ को बराबरीमा खेल्दा नै नेपालले बंगलादेशविरुद्ध पहिलो गोल खाएक थियो ।
शनिबार नेपालले बंगलादेशको आक्रमणलाई निस्तेज मात्र पार्न सकेपनि समूह विजेता बन्नेछ । तर प्रशिक्षक हरि खड्काको भनाइ मान्ने हो भने नेपाल जितका लागि खेल्नेछ र जित्नेछ पनि ।
दक्षिण एसियाकै उत्कृष्ट आक्रमणको संज्ञा प्रशिक्षकले दिएपछि खेलाडीले पनि सिद्ध पार्न जरुरि छ ।