०३ चैत्र २०७५, काठमाडौं
हङकङमा जारी तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ ।
आईतबार भएको ३ हजार मिटर दौडमा भारत, जापान, यमन लगायतका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल एपीएफ क्लबका खेलाडी नेपालका अजितकुमार यादवले स्वर्ण जितेका हुन् ।
एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा यो नेपालको पहिलो स्वर्ण समेत हो । एशियाली एथ्लेटिक्स च्याम्पियनसिपमा जीतबहादुर केसीले नेपाललाई पहिलो पदक जितेयता एशियाली एथ्लेटिक्समा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन ।
तर, नेपालका अजितले उक्त स्वर्ण पदक दिलाएका हुन् । अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गरे ।
दोस्रो स्थानमा रहेका भारतका अमित जंगजीर ८ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरी रजत र ८ मिनेट ३८.६० सेकेण्डमा निर्धारित दूरी पूरा गरेका यमनका गामिल अल हामातीले काश्य पदक पाए ।