कल्प वृक्ष कि निव ?



०५ चैत २०७५, काठमाडौं

अस्मिता दाहाल (नेपाल ल क्याम्पस, काठमाडौं)

हामी पारायण गर्छौ, पुराण सुन्छौं । भागवत गीता पढ्छौं र श्रवण गर्छाै । त्यस्तै कुरान र वाईवल पनि पढेकै हुन्छौं । यि सबैको सार तत्व मिमांशा के हो ? यि शास्त्रहरु हामीलाई किन चाहियो ? यस विषयमा जति विवेकले काम गर्छ त्यति नै मात्रामा आत्मबोध हुन्छ अनि धारणाको विकास बन्दछ । तत्पश्चात मनाव, जीवन, जगत र अस्तित्वको वारेमा अपार बोधमय ज्ञानरुपी चच्क्षुहरुको प्रभावले निरमय भाव स्वरुप त्यसका गुणहरु फैलिदैं गएको हुन्छ ।

शावित्री, दमयन्ती, मन्दोदरी, तारा यि नाम कुनै कालखण्डमा नारीका चम्किला नक्षेत्रहरु थिए । स्वभाव, गुण, आचरण र व्यवहारले यिनीहरुको प्रभाव सामान्य थिएन । जुक्ति, युक्ति र बुद्धिले परिपूर्ण यि नारीमा मातृभावको वात्सल्यता देखिन्थ्यो र सबैका पुजनिय माता बनेर लोकहितका लागि प्रेरणाको मार्गका रुपमा स्थापित थिए । आज ति नारी जो समाजमा आफ्नो परिचयका लागि अरु कसैको साहारामा रुमलिएका छन् । कुनै पुरुषको जीवनमा प्रवेश गरी स्वयम् नारित्वको भावना रित्याउँदा खुशी हुने ति तमाम नारी जो अर्को नारीको अपहेलना गर्दछे । अनि उ खुसी हुन्छे आफूले संसार जितेको आभाषमा । कस्तो विचित्र, यतिवेला उसलाई यो पनि थाहा हुँदैन कि म स्वयम् एउटी नारी हुँ भनेर पनि । त्यहि नारी होलीका जो नारीको रुपमा कलंकित रहि अनि त्यहि नारी शावित्री जसले यमराजको मुखबाट सत्यवानको जीवन फिर्ता गराईन् ।

भनिन्छ जुन घरमा नारीको ईज्जत र सम्मना गरिन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ अनि ईश्वर पनि खुशी हुन्छन् रे । त्यति मात्र होईन महिला र पुरुष एक रथका दुई पांग्रा पनि भनिएको हुन्छ । घरदेखि शहरसम्म रथ चलाउने क्रममा दुबै पांग्राको बराबर भूमिका र महत्व पनि रहेकै होला । तर यति हुँदाहुँदै पनि महिला शसक्तिकरणका कुरा गर्ने जिम्मेवार निकाय वा व्यक्ति स्वयमबाटै त्यसको पूर्ण पालना भएको देखिदैन । परिणाम स्वरुप महिला हिंसाका घटनाहरु वारम्बार समाचार बनेका हुन्छन् ।

हाम्रो सामाजिक संरचना पनि गजबको पनि । त्यहि पुरुष जसलाई नारीले जन्माएकी हुन्छे र पनि उसैले नारीलाई बलात्कार गर्छ । तर ति महिला जसको विना दोष बलात्कृत भएर बाँच्दाको पिडा यो वा त्यो नाउँमा पटक–पटक त्यहि समाजले दिन्छ र भन्छ त्यस्ती आईमाईको के कुरा गर्नु । हामी नारामा २१ औं शताब्दीको विकासका कुरा गर्छाै तर व्यवहारमा जानेर या नजानेर शोषणका लागि चक्रहरु रच्न छाडेका हुँदैनौं । यसको मूल कारण भनेकै समाजको बनावट, सांस्कृतिक विचारहरु, छोरा र छोरी प्रतिको भेद, आर्थिक परिबेश, शैक्षिक एवं राजनैतिक सचेतना नै हो । नारीको हैसियत माथि नउठेकाले पनि संविधानमा ३३ प्रतिशत नारीको हिस्सालाई उठान गरियो र यसकै पालना राजनितीक क्षेत्र तथा नेतृत्वमा देखिएन । त्यहि नारी दाईजो नपुग्दा घर निकाला हुन्छे अनि न्याय पाउन भिख माग्छे ।  यिनका लागि नत न्याय दिन सकेको छ समाजले नत पिडादेखि मुक्त हुन सामाजिक सुरक्षा नै ।

आज समाजको गति यस्तै भएको छ । दोष जति पुरुषमा थोपरेर आफ्नो अस्मिता हराएको थाहा नपाउने प्रशस्त नारीहरु यहि समाजमा आफूलाई निकै सभ्य ठान्दैछन्, जसलाई शास्त्रले निव वृक्षको उपमा दिएको छ । टर्रो र अमिलो निव जहाँ घ्यू, चिनी र महले पुरै ढाकिदिए पनि भित्री गुण सधै अमिलो र टर्रो नै हुने रहेछ । श्रीमान्को तालुमा नाचेर रमाउने ति नारी जसको अस्थित्व उ आफूसँग केहि पनि रहेको हुँदैन तैपनि उसले अर्की नारीको सम्मान र आदर गर्न जानेकी हुन्न । सिल, स्वभाव र गुणले युक्त नारी जसलाई कल्प वृृक्षको रुपमा हेरिएको हुन्छ । उसले आफू, घर परिवार र समाजको सधैं हित चितायएकै कारण आफ्नो उद्देश्यबाट कदापि विचलित हुनु पर्दैन र पिडाको महशुस पनि गरेकी हुन्नन् । हो, यहि कारणले गर्दा हामी नारी पुरुषलाई एकोहोरो दोषी ठानेर अगाडी नबढौं । कल्प वृक्ष बन्ने या निव वृक्ष बन्ने भन्नेमा आफू आफैले विवेक प्रयोग गरौं ।

प्रतिक्रिया दिनुहोस्