नेपालले श्रीलंकाको सामना गर्दै, सधैं जितिरहने भएकाले यो खेल पनि जित्ने प्रशिक्षक खड्काको दावी !



०५ चैत्र २०७५, काठमाडौं

पाँचौं साफ महिला च्याम्पियनसिपअन्तर्गत बुधबार नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

विराटनगरको शहीद रंगशालामा जारी खेलमा नेपालले श्रीलंकाको सामना गर्न लागेको हो । समूह चरणको खेलमा शतप्रतिशत नजिता निकालेको नेपालले श्रीलंकासँग पनि एउटै लय समात्ने अठोट गरेको छ ।

नेपाली टोलीका प्रशिक्षक हरि खड्काले नेपाल श्रीलंकाको तुलनामा निकै बलियो भएको बताए ।

‘हामी शारीरिक, मानसिक र प्राविधिक सबै हिसाबले तयार छौ । श्रीलंकालाई सँधै हराउँदै आएकोले जित्ने पूर्ण विश्वास छ । तरपनि विपक्षीलाई कमजोर आँकेका छैनौं,’ खड्काले भने ।

नेपालकी कप्तान निरु थापाले श्रीलंका शारीरिक रुपका बलियो टोली भएकोले मेहनत गरेर खेल्ने बताईन् ।

‘हाम्रो टोली सन्तुलित छ । आक्रमण र रक्षा पंक्ति पनि उत्कृष्ट छ । सबै खेलाडीले उपाधि उचाल्ने एउटै लक्ष्य लिएका छौं । हरेक खेल सोही अनुसार खेल्ने छौं,’ थापाले भनिन् ।

श्रीलंकाविरुद्ध नेपाल यसअघिका खेलमा पनि हावी हुँदै आएको छ । दुई टोलीबीच यसअघि भएको पाँच भिडन्तमा नेपालले सबै खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस्