०५ चैत २०७५, काठमाडौँ
बूढानीलकण्ठ नगरपालिकामा समग्र विषयवस्तु समेटी स्थानीय पाठ्यक्रम तयार गरेर मात्र पढाइ शुरु हुने भएको छ ।
हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म अनिवार्य विषयका रुपमा एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम बनाई पढाइ शुरु गरिने नगर प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिएका छन् ।
नगर प्रमुख खरेलका अनुसार विकास, प्रबन्धन, सुशासन र चेतनालगायतका विषयवस्तु समेटिएको पाठ्यक्रम तयार गरी आगामी असारदेखि सबै विद्यालयमा परीक्षणका रुपमा पढाइ शुरु गरिने छ । परीक्षणपछि मात्र हरेक विद्यालयमा अनिवार्यरुपमा पढाइ सञ्चालन गरिने जानकारी दिएका छन् ।
खरेल भन्छन्,“बालबालिकाको पहिलो खुड्किलो प्रारम्भिक शिक्षा भएका हुनाले यसमा पनि विशेष जोड दिइने छ ।”
उक्त पाठ्यक्रमबाट आउँदौ पुस्ताले आफ्नो क्षेत्र, स्थानीय चालचलन, रीतिरिवाज र परम्परालाई सजिलै बुझ्न सकिने बताइएको छ ।
पानी र शौचालय अति आवश्यक वस्तु भएका हुनाले यसलाई हरेक सामुदायिक तथा संस्थागत विद्यालयमा व्यवस्थित बनाउँदै जाने समेत उनले बताए ।