०७ चैत्र २०७५, काठमाडौं
विश्व फुटबलका सफल खेलाडी तथा स्टार क्रिस्टियानी रोनाल्डोलाई युनियन अफ युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले २० हजार युरो जरिवाना गर्ने निर्णय गरेको छ ।
युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत एट्लेटिको म्याड्रिडविरुद्धको दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गर्दा सेलिब्रेसनका क्रममा अनुचित व्यवहार गरेका थिए ।
एसोसिएसनले उक्त सेलिब्रेसनलाई खेल भावनाविपरीत कार्य गरेको ठहर गर्दै जरिवाना गर्ने निर्णय गरेको हो । पहिलो लेगमा एट्लेटिकोले युभेन्टसलाई २–० ले पाखा लगाएको थियो ।
दोस्रो लेगमा युभेन्टसले ३–० को जित निकाल्दा रोनाल्डोले ह्याट्रिक गरे । सोही ह्याट्रिकको खुसियाली मनाउने क्रममा रोनाल्डोले म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनीलक्षित अनुचित व्यवहार गरेका थिए ।
च्याम्पियन्स लिगमा रोनाल्डोको नाममा सर्वाधिक गोलको कीर्तिमान छ । म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड तथा युभेन्टसबाट उनले समग्रमा १६० खेलबाट १२४ गोल गरेका छन ।
यसैगरी, ह्याट्रिकमा उनले बार्सिलोनाका लियोनल मेसीसँग बराबरी गरेका छन । एट्लेटिकोविरुद्धको दोस्रो लेगमा गरेका ३ गोलको मद्दतमा रोनाल्डोले च्याम्पियन्स लिगमा मेसीको बराबर आठ ह्याट्रिक लगाएका छन ।
रोनाल्डोको कार्यप्रति धेरैजसो विश्लेषक तथा युरोपियन मिडियाले विरोध जनाएका छन । युइएफएले प्रारम्भिक रूपमा २० हजार युरो जरिवाना सुनाए पनि उनकाबारे थप कारबाही सम्बन्धमा २१ मार्चमा निर्णय हुनेछ ।