०७ चैत्र २०७५, काठमाडौं
पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधी का लागि यसअघिको सबै उपाधी होल्डर भारत र उपाधी दावेदार नेपालबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल विराटनगरस्थित शहीद रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुने छ । विराटनगरमा बिहीबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक हरि खड्काले दक्षिण एसियामा भारत बलियो भएपनि यसपटकको साफमा भारतको वर्चस्व तोड्दै उपाधि नेपालले जित्ने बताएका छन् ।
“दक्षिण एसियामा भारत बलियो र स्थापित टोली हो । हामीले पनि फाइनलसम्मको यात्रा तय गरेका छौं । हामी पनि स्थापित हुने क्रममा छौं ।” उनले भने ।
“हामीले भारतसँग यसअघि दुई खेल खेलेका छौं । जसमा एक जित र एक बराबरी छ । टिमको मनोवल उच्च रहेको छ । उनीहरुको विङ्समा केही राम्रो देखिएको छ । हामी उनीहरुलाई रोक्दै उपाधि जित्ने लक्ष्यमा हुनेछौं ।” खड्काले थपे ।
सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । नेपाल चौंथो पटक साफको फाइनलमा प्रवेश गरेको हो । भारतले बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालसंगको भेट पक्का गरेको थियो ।