०८ चैत्र २०७५, काठमाडौं
साफ महिला च्याम्पियनसिप फुटबलको उपाधीका लागि आज आयोजक नेपाल र पाहुना टोली भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।
विराटनगरस्थित शहीद रंगशालामा आज दिउँसो ३ बजे सुरु हुने उपाधी भिडन्तबाट नेपाल नयाँ इतिहास लेख्ने दाउमा छ ।
नेपाल चारपटकको च्याम्पियन भारतलाई हराएर उपाधी जित्ने दाउमा छ । आज नेपाल चौथोपटक भारतविरुद्ध साफ महिला च्याम्पियनसिपको फाइनलमा भिड्न लागेको हो ।
भारत यस प्रतियोगिताको साबिक विजेता पनि हो । ऊ आज नेपाललाई उसकै घरमा हराएर पाँचौंपटक च्याम्पियन बन्ने दाउमा छ ।
भारत यस्तो टिम हो, जसले साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म कुनै पनि खेल हारेको छैन । यस्तो इतिहास रहेको देश भारतलाई नेपाल आज आफ्नो घरमा हराएर चयाम्पियन बन्ने योजनामा छ ।
खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टिमका प्रशिक्षक हरि खड्काले आफूहरूको एक मात्रै उद्देश्य उपाधी रहेको बताउँदै भारतविरुद्ध उत्कृष्ट खेल खेल्ने बताएका छन् ।
जारी प्रतिोगितामा भारत निकै राम्रो लयमा छ । उसले फाइनलसम्म पुग्दा ३ खेलबाट १५ गोल गरेको छ । जसमा उसले माल्दिभ्सविरुद्ध ६–०, श्रीलंकाविरुद्ध ५–० र बंगलादेशविरुद्ध ४–० को फराकिलो जित निकालेको थियो ।
यता, नेपाल पनि यसपटक राम्रो लय देखिएको छ । नेपालले भातरविरुद्ध खेलेका पछिल्ला दुई खेलमध्ये एक खेल जितेको छ भने एक खेल बराबरी गरेको छ ।